site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रमन्त्रीको निर्देशन– राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नू
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वमा रहेका सबै नेपाली मिसन प्रमुखहरूलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन् ।

मन्त्री डा. राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरूलाई बिहीबार मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै सो निर्देशन दिएकी हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भनिन्, “आर्थिक कूटनीति पनि नेपालको परराष्ट्र नीतिको एक अभिन्न अंगका रूपमा हामीले अघि बढाइरहेकाले नेपालको विकासको आकांक्षा र आर्थिक वृद्धिका लागि सहयोग पुर्‍याउने गरी कुनै पनि क्षेत्रको अन्वेषणमा लाग्नुहोस्, जसले नेपालमा आर्थिक लगानी आकर्षित गर्न सहयोग पुगोस् ।”

आफू रहेका देश तथा स्थानका सम्भावनालाई नेपालसँग जोडेर त्यसबाट नेपालले कसरी लाभ लिन सक्छ र नेपालको आर्थिक विकासका प्रयासहरूलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सोचेर काम गर्न मिसन प्रमुखहरुलाई उनको सुझाव थियो ।

मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेर अलग्गै महाशाखामार्फत् काम गर्न लागेकाले नेपालका सबै मिसनहरूले आर्थिक कूटनीतिका मध्यमबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने काममा लाग्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री डा. राणाले भनिन्, “विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरूले आर्थिक कूटनीतिका माध्यमबाट आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरूलाई विश्व बजारसम्म पुर्‍याउन आवश्यक देखिएको छ ।”

 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्