site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिपक्षी दलहरूको निष्कर्ष– तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशनको माग गर्ने

काठमाडौं । प्रतिपक्षी दलहरूको बैठकले तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ ।

“हामी प्रतिपक्षी राजनीतिक दलहरू संसद्को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौँ,” शुक्रबार प्रतिपक्षी दलहरूको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विज्ञप्तिमा हिउँदे अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्ने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा संघर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौँ ।”

संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्ने भए पनि सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने काम भएको प्रतिपक्षी दलहरूको ठहर छ ।

“संसद् छल्ने र राजनीतिक निर्णय तथा काम कारबाहीहरू पूर्वाग्रही ढंगले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै संकट ल्याउने हाम्रो ठहर छ,” विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार प्रतिपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी (आजपा), नेपाल समाजवादी पार्टी (नेसपा)का शीर्ष नेताहरूको बैठक बसेको थियो ।

बैठकपछि जारी विज्ञप्तिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, आजपाका सह–अध्यक्ष तिलक थापामगर र नेसपाका अध्यक्ष महेन्दराय यादवको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्