site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मासिक चकटी बहसमा ‘रूदाने’

काठमाडौं । पठन संस्कृतिको विकासका काम गर्दै आएको बुकाहोलिक्सले मासिक चकटी बहसमा रंगकर्मी तथा उपन्यासकार टंक चौलागाईंको उपन्यास ‘रूदाने’माथि परिचर्चा गराएको छ ।

शुक्रबार मार्टिन चौतारीको सभाकक्षमा आयोजित ९७औँ चकटी बहस कार्यक्रममा मूल वक्ता कथाकार विना थिङले कृतिमाथि पाठकीय टिप्पणी राख्दै किम्बदन्तीजस्ता पात्र रूपचन्द्र विष्टमाथि उपन्यास लेखिनु आफैँमा चुनौतीपूर्ण काम भएको बताइन् । तथापि, रूदानेलाई बुझ्न यो उपन्यासले मद्दत गर्ने र कृति पठनीय भएको उनको तर्क रह्यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मकवानपुरमै जीवनको लामो समय बिताएकी थिङले आफ्ना माता पिताले रूपचन्द्र विष्ट (रूदाने)का कतिपय प्रसंग सुनाउने गरेको चर्चा गर्दै उनी स्वाभिमानी मात्र नभएर सहयोगी पनि भएको बताइन् ।

उपन्यासको चर्चा गर्दै कथाकार थिङले व्यक्तिको जीवनमा आधारित उपन्यास लेख्दा लेखकलाई धेरै उडान गर्ने स्वतन्त्रता नहुने बताउँदै किताबका कमि कमजोरी पनि केलाइन् । उनले रूदाने पत्नीका प्रसंग उपन्यासमा कम आएको उल्लेख गरिन् ।

कार्यक्रममा उपस्थित केही पाठकहरूले उपन्यास हतारमा लेखिएको हो कि ! भन्ने चर्चा गर्दै भाषाका कमी कमजोरीबारे कुरा उठाए ।

उठेका सवालहरूको जवाफ दिँदै उपन्यासकार चौलागाईंले रूदानेलाई आफूले नचिने पनि उनका विषयमा उपन्यास लेख्न मन बनाएर खोजी गरेर लेखेको उल्लेख गरे ।

बुकाहोलिक्सकी संयोजक सगुना शाहले चकटी बहसको अब आउन लागेको १००औँ शृङ्खला केही पृथक रूपमा गर्ने सोच रहेको बताइन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्