site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

चुरे क्षेत्रको संरक्षण युद्धस्तरमा नगर्ने हो भने निकट भविष्यमा नै भयावह सङ्कट आइपर्न सक्छ भन्ने थाहा हुँदाहुँदै पनि सरकार यसप्रति गम्भीर देखिएको छैन । उल्टै चुरे संरक्षणका लागि खडा गरिएको कानुनी संरचनासमेत खारेज गरी मन्त्रीको प्रत्यक्ष मातहतमा लैजाने प्रपञ्च गरिनु चिन्ताको विषय हो ।

चुरे क्षेत्र संरक्षणको आवश्यकता र महत्त्वअनुरूप सरकारले ‘राष्ट्रपति चुरे तराई(मधेस संरक्षण विकास समिति’ गठन गरेको थियो । तर, समितिलाई चुरे संरक्षणका लागि सरकार विशेषगरी राजनीतिक दलहरूबाटै आवश्यक सहयोग भएन । चुरे दोहनमा पल्केकाहरू सुरुदेखि नै समितिको विरोधमा सक्रिय देखिएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राज्यको नियमित संयन्त्रबाट चुरे क्षेत्रको दोहन रोकेर संरक्षण गर्न नसकिने ठहर गरेर नै अर्थात् अभियानकै रूपमा संरक्षण कार्यक्रम सुरु गर्न सरकारले २०७१ सालमा ‘राष्ट्रपति चुरे ( तराई मधेस संरक्षण विकास समिति’ गठन गरेको थियो । तर, ‘चुरे क्षेत्रको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको संवर्द्धन’ गर्ने मूल लक्ष्य पूरा गर्ने दिशामा भने एक दशक बित्दा पनि समिति प्रभावकारी हुनसकेको छैन । 

यही कारण देखाएर स्वायत्त संस्थाका रूपमा परिकल्पना गरिएको समितिलाई विभागीय मन्त्रीको प्रत्यक्ष मातहतमा ल्याउन खोजिएको हुनसक्छ । परन्तु, मन्त्रीको प्रत्यक्ष मातहतमा ल्याउँदैमा  संस्था प्रभावकारी हुने उदाहरण बिरलै देखिन्छ । बरू, संस्थाको साधनस्रोतको दुरुपयोग र दोहन बढी भएर मूल काममा प्रतिकूल प्रभाव पर्नसक्छ ।

चुरे क्षेत्रमा अहिले ढुंगाबालुवा उत्खननका नाममा भयावह विध्वंश मच्चाइएको छ । स्थानीय राजनीतिक नेता एवं प्रशासनिक अधिकारीहरूको संरक्षणमा हुर्केको गिरोहले चुरेको प्रकृति र संस्कृति दुवै ध्वस्त पारिरहेको छ । यसको प्रतिकूल प्रभाव तत्काल चुरे क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा परे पनि दीर्घकालमा तराईमधेसको जनजीवन र अन्ततः समग्र नेपालीमाथि पर्नेछ ।

यसैले समितिको संरचनामा परिवर्तन गर्ने हो भने चुरे संरक्षणको प्रयासलाई थप प्रभावकारी एवं सशक्त बनाउनु उचित र आवश्यक देखिन्छ । यसका लागि राजनीतिक हस्तक्षेप र परिवर्तनबाट असर नपर्ने गरी अलग्गै कानुन बनाएर स्वायत्त निकाय गठन  गर्नु बढी उपयुक्त हुनसक्छ । 

नेपालको सामुदायिक वनको संरक्षण र विकासले संसार सामु संरक्षणमा समुदायको संलग्नता प्रभावकारी र फलदायी हुने उदाहरण  प्रस्तुत गरेको छ । चुरे क्षेत्रमा पनि सामुदायिक वन संरक्षणमा देखिएका कमजोरी हटाएर सफलताका उपायहरू अपनाउन सकिन्छ । अर्थात् संरक्षण प्रयासलाई कर्मचारीतन्त्रको घेराबाट बाहिर निकाल्नुपर्ने रहेछ भने राजनीतिक स्वार्थपूर्तिको माध्यम बन्न रोक्नुपर्ने रहेछ ।

अहिलेको ‘राष्ट्रपति चुरे(तराईमधेस संरक्षण विकास समिति’ प्रभावकारी नहुनुको कारणमा यसमा पनि राजनीतिक भागबन्डा हुनु मुख्य हुनसक्छ । यसैगरी स्थानीय समुदायको पहुँच र प्रतिनिधित्व नहुनु पनि समिति प्रभावकारी नहुनुको अर्को कारण हुनुपर्छ । यसैले अबको संरचनामा यस्ता कमजोरी नहुने उपाय अपनाइनु उचित हुनेछ । 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्