site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाली छात्राको मृत्यु र निकालिएका नेपाली विद्यार्थीका बारेमा बुझ्दै छौँ : प्रधानमन्त्री ओली 

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको सम्बन्धमा बुझ्ने काम भइरहेका बताएका छन् । 

“भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

केआईआईटीको होस्टलमा आइतबार साँझ एक जना २० वर्षीया नेपाली छात्रा मृत अवस्थामा भेटिएकी थिइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रजिस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न भनेको थियो । 

सोमबार केआईआईटी विश्वविद्यालयमा अध्ययनरत पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छोडिएको छ । 

भारतीय मिडिया द इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरे अनुसार उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको छ ।

आइतबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा रहस्यमय अवस्थामा २० वर्षीया नेपाली छात्रा मृत अवस्थामा भेटिएकी थिइन् । 

मृतक छात्रा नेपालली बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ । उनको मृत्युको कारण अझै पत्ता लागेको छैन ।

सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले कथित रूपमा दुर्व्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।

सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले ती पुरुष विद्यार्थीले प्रकृतिलाई दुव्र्यवहार गरेको अडियो समेत पोस्ट गरेका छन् । 
गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)लाई प्रकृतिले आफूमाथि दुव्र्यवहार भएको रिपोर्ट गरेकी थिइन् । तर, विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको दाबी गरिएको छ । 

घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए र उनीहरूले विश्वविद्यालयको प्रवेशद्वारबाहिर विरोध प्रदर्शन गरेका थिए ।  विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृति ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए । 

मृतकको शवलाई अहिले पोस्टमार्टमको लागि क्यापिटल अस्पताल लगिएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्