site stats
बाह्रखरी :: Baahrakhari
देश
नयाँ प्रणाली भित्रियो, ६ वटा प्रदेशमा वर्षा, काठमाडौंमा के हुन्छ ?
फाइल तस्बिर । 

काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षा र हिमपातको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव बढी रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । 

“लुम्बिनी र गण्डकीमा पनि यसको प्रभाव छ । तर, सुदूरपश्चिम र कर्णालीको जति छैन,” मौसमविद् अधिकारीले बाह्रखरीसँग भने, “वाग्मतीदेखि कोसी प्रदेशसम्म भने यो प्रणालीको असर कम पर्नेछ ।” 

बुधबार साँझबाट भित्रिएको पश्चिमी न्यूनचापीय प्रणाली अबको चौबीस घण्टासम्म रहने उनले जानकारी दिए । भोलि रातिबाट भने कम हुने उनको भनाइ छ । 

काठमाडौं उपत्यकामा दिउँसो वर्षाको सम्भावना छ । “काठमाडौं उपत्यकामा अपराह्नपछि छिटपुट वर्षाको सम्भावना छ । एकदुई स्थानमा छिटपुट वर्ष भए पनि धेरै स्थानमा भने वर्षा हुने छैन,” मौसमविद् अधिकारीले भने, “काठमाडौंमा आज दिनभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।” 

काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ । 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ०६:३५
प्रतिक्रिया दिनुहोस्