site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

वैदेशिक अनुदान दुरुपयोग भएकोमा जति चिन्ता र चासो हुनेगरेको छ राज्यका विभिन्न निकायले दिनेगरेको अनुदानको दुरुपयोग, हिनामिना र विफलताका विषयमा भने अपेक्षाकृत कम चर्चा हुन्छ । तर, मूलतः राजनीतिक दलका प्रभावशाली नेता कार्यकर्ता र तिनका आसेपासेले सरकारका विभिन्न निकायबाट लिँदै आएका यस्ता अनुदान भने अधिकांश दुरुपयोग भएका छन् । 

यस्ता अनुदान प्रायः सत्तामा पहुँच र प्रभाव हुनेहरूले लिएकाले दुरुपयोग हुँदा पनि कारबाही हुनेगरेको छैन । कारबाही त परको कुरा अनुदान दिएपछि सम्बन्धित सरकारी निकायले अनुगमनसम्म पनि गर्दैन । यसैले कतिपय व्यक्ति त पटकपटक अनुदान दुरुपयोग गर्न पल्केका छन् । 

यसरी अनुदान दुरुपयोग गर्नेहरूमा विभिन्न नेताका नाममा खोलिएका संस्थाहरूदेखि सामान्य कृषि कर्मदेखि उद्योग सञ्चालन गर्ने भनी दर्ता भएका संस्थाहरूसम्म हुनेगरेका छन् । कर्णाली प्रदेश सरकारले सुर्खेतको भेरीगंगा नगरपालिका(११ मा बेसार उद्योगका नाममा गरेको १८ लाख रुपियाँ यस्तै अनुदान दुरुपयोगको उदाहरण हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तत्कालीन नेकपा (माओवादी)का तर्फबाट संविधान सभा सदस्य रहेका एक व्यक्तिले बेसार उद्योग सञ्चालन गर्ने परियोजनाका लागि आर्थिक वर्ष २०७६र७७ कर्णाली प्रदेश सरकारबाट १८ लाख रुपियाँ लिएका थिए । प्रदेश सरकारसँगै व्यक्तिहरूले समेत लगानी गरे पनि बेसार उद्योग भने सञ्चालन भएन । 

अहिले परियोजना अगाडि बढाउने व्यक्तिले प्रदेश सरकारलगायत विभिन्न पक्षबाट अपेक्षित सहयोग नभएकाले उद्योग सञ्चालन हुननसकेको दाबी गरेका छन् । सरकारी सहयोगको आश्वासनमा लगानी गर्दा आफ्नो पैसा पनि डुबेको उनको गुनासो छ । अर्कातिर कर्णाली प्रदेश सरकारका बहालवाला भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीले भने यस वर्ष त्यस्ता उद्योगमा लगानी गर्ने कार्यक्रम नभएको जानकारी दिएका छन् ।

अर्थात्, आर्थिक सामाजिक सूचकमा सबैभन्दा पछाडि परेको कर्णाली प्रदेशका जनताको शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवामा लगानी गर्न सकिने रकम खेर फालियो । दुर्भाग्य, कर्णाली प्रदेश सरकारले अपनाएको यस गलत नीतिका लागि कसैले जिम्मेवारी त लिनु पर्दैन नै सम्भवतः नीतिगत कमजोरी भएको स्वीकार पनि निर्णयकर्ताहरूले गर्दैनन् ।

निजी क्षेत्रले सजिलै गर्नसक्ने काममा प्रदेश सरकारले हात हाल्नु नै गलत थियो । विडम्बना, अरू प्रदेश र संघीय सरकारका मन्त्रीहरू भने अहिले पनि उद्योग खोल्ने र चलाउने सपना बाँडिरहेका छन् । लाग्छ, यिनीहरू जतिपटक परे पनि कहिल्यै चेत नपाउने ‘मूर्ख’को कोटीमा पर्छन् । यद्यपि, राज्यको सम्पत्ति लुट्ने बदनियतबाट यस्तो धारणा प्रकट भएको पनि हुनसक्छ । 

भेरीगङ्गामा खोल्ने भनिएको बेसार उद्योगलाई जस्तै कर्णाली प्रदेश सरकारले अरू कति उद्योगलाई अनुदान दिएको छ र तिनको अवस्था कस्तो छ रु यस्तै राजनीतिक प्रभावबाहेक अरू कुन मापदण्डमा ती संविधान सभासदलाई उद्योग सञ्चालन गर्न लाखौं रुपियाँ दिइयो रु यस्ता प्रश्नहरूको उत्तर कहिल्यै खोजिएको वा खोजिने पनि छैन ।

राजनीतिक पहुँच र प्रभावका आधारमा वितरण गरिएका अधिकांश अनुदान  दुरुपयोग हुनु अस्वाभाविक पनि होइन । यसैले राज्यको सम्पत्ति कसैको तजबिजमा बाँडिने सामन्ती अभ्यास नै बन्द गरिनुपर्छ । यस्तै राजनीतिक दल र व्यक्तिलाई नीतिगत गल्तीका लागि सजाय दिने त जनताले नै हो तर बदनियत र भ्रष्टाचारमा भने प्रचलित कानुनअनुसार सजाय पनि हुनुपर्छ । नत्र भेरीगंगाको बेसार उद्योगको कथा दोहोरिई रहनेछ ।
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्