site stats
बाह्रखरी :: Baahrakhari
देश
बजारमा साढे २४ करोड मर्मत खर्च लाग्ने उपकरण आविष्कार केन्द्रले २३ लाखमै गर्‍यो !
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरण मर्मत गरेको छ । सत्र अस्पतालका ६६१ वटा उपकरण निरीक्षण गरिएकामा ५०० वटा मर्मत गरिएको केन्द्रका बायोमेडिकल इन्जिनियरिङ विभागका प्रमुख उमेश किराँतीले जानकारी दिए ।

ती उपकरण १० वटा अस्पतालका हुन् । केन्द्रले ५०० उपकरण मर्मतमा २३ लाख २० हजार रुपैयाँ खर्चिएको किराँतीले बताए । बजारमा करिब साढे २४ करोड रुपैयाँ मर्मत खर्च लाग्ने उपकरण केन्द्रले २३ लाख रुपैयाँमा मर्मत गरेको उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले नेपालको बजार मूल्य सर्वेक्षण गर्दा हाल मर्मत भइरहेको संख्यामा उपकरण मर्मत खर्च २४ करोड ३० लाख लाग्ने जानकारी पाएका छौँ,” उनले भने ।

केन्द्रले सामान्य तार जोड्नेदेखि थप सामग्री मगाएर जटिल मर्मतसमेत गरेको छ । “कतिपय अस्पतालमा तारसम्म मर्मत नगरेर राखिएका उपकरण पनि भेटियो,” किराँतीले भने ।

सम्झौता गरेकाबाहेक अन्य अस्पतालबाट पनि आग्रह आएमा उपकरण मर्मत गर्न तयार रहेको केन्द्रले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केन्द्रलाई धन्यवाद दिँदै सहकार्य जारी रहने बताएका छन् ।

गत भदौ १८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रबीच मर्मत अभावमा थन्किएका १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्ने सम्झौता भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्