site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

‘निषेध’ शासनको नकारात्मक उपाय हो । असल शासनमा निषेधको होइन विधिको अभ्यास हुन्छ । नेपालमा भने शासन व्यवस्थामा आमूल परिवर्तन हुँदा पनि राज्य सञ्चालनमा निषेधको सामन्ती अभ्यास नै प्रिय रहिआएको छ । काठमाडौंलगायतका सहरमा बेला न कुबेला थोपरिने ‘निषेधाज्ञा’ यही प्रशासनमा जमेको सामन्ती संस्कारको उदाहरण हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले उनको स्वागतमा आइतवार काठमाडौंमा जुलुस निकाले । जुलुसका कारण उपत्यकाको सार्वजनिक यातायात व्यवस्था अस्तव्यस्त भयो । जुलुसका कारण बाटाका छेउका बिरुवाहरू नाशमास भएको  भनेर काठमाडौं महानगरपालिकाले आयोजक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपियाँ जरिवाना तिरायो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजावादीहरूको जुलुसको प्रतिवादमा जस्तो लाग्नेगरी लगत्तै काठमाडौं जिल्ला प्रशासनले सहरका केठी ठाउँमा अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रम गर्न नपाउने गरी दुई महिनाका लागि निषेधाज्ञा जारी गर्‍यो । यसरी विरोध निषेध गरिएका ठाउँमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र आसपासका क्षेत्र रहेका छन् ।

काठमाडौंमा निषेधाज्ञा लागु गर्नु सामान्य अभ्यासजस्तै भइसकेको छ । प्रशासनिक पूर्वक्रियाशीलता बढाएर  कानुन कार्यान्वयनमा  दृढता देखाउनभन्दा निषेधको कवचमा सुरक्षित रहन खोज्ने मानसिकता शासक र प्रशासक दुवै समूहमा बलियो छ । यद्यपि, निषेधाज्ञा जारी गरिएका ठाउँमा अहिलेसम्म विरोध प्रदर्शन बिरलै  रोकिएका छन् । 

यसरी छिसिक्क केही हुनेबित्तिकै आत्तिएर प्रतिक्रिया देखाउँदा अराजक समूहको हौसला झन् बढ्ने गरेको देखिएको छ । निषेधको उल्लङ्घन गर्नुलाई भिडले बहादुरी ठान्छ । फलस्वरूप, तोडफोड र झडप निषेधित ठाउँमै बढी हुने गर्छ । यसैले प्रशासनले पुरानो अभ्यास आँखाचिम्लेर दोहोर्‍याउनुको साटो त्यसको औचित्य र प्रभावकारिताको विश्लेषण गरेरमात्र निषेधाको अभ्यास गर्नु उचित हुनेछ ।

निषेधाज्ञाको आदेशमा विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा हानि नोक्सानी र क्षति भएमा कानुनबमोजिम आयोजकबाट नै त्यस्तो क्षतिपूर्ति असुल उपर गराइने पनि उल्लेख गरिएको छ । तर, काठमाडौं महानगरपालिकाले जसरी प्रशासनबाट क्षतिपूर्ति तिराइएको भने उदाहरण छैन । यसले पनि कार्यान्वयन गर्न नभएर औपचारिकता पूरा गर्नमात्र यस्ता आदेश जारी हुनेगरेको भान हुन्छ ।

शासनका केन्द्र र शासकहरूको निवासमा मात्र होइन सर्वसाधारण हिँड्ने सडकमा समेत जनतालाई असुविधा हुनेगरी विरोध वा समर्थन गर्न दिइनु हुँदैन । नागरिकको सहजतापूर्वक हिँडडुल गर्ने स्वतन्त्रताको रक्षा गर्न आवश्यक भए सरकारले उचित बल पनि प्रयोग गर्नुपर्छ । यसैले काठमाडौं जिल्ला प्रशासनलगायत शान्ति व्यवस्था कायम राख्ने दायित्व भएका राज्यका निकायले नागरिकका स्वतन्त्रताको रक्षा गर्ने कानुन कार्यान्वयनमा दृढता देखाउनु आवश्यक छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्