site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मुर्रा राँगाको वीर्य परीक्षण सफल

बाँके । पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नस्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ । बाँकेको खजुरा गाउँपालिका–२, एल गाउँ निवासी किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट पहिलो पाडो जन्माएको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज, गौघाटबाट मुर्रा राँगाको वीर्य खरिद गरी कृत्रिम गर्भाधान गराएको भैँसीले एक महिनाअघि माघ २६ गते राति पाडो जन्माएको किसान रेग्मीले जानकारी दिए । “भैँसीमा गर्भ नरोकिने समस्या देखिएको थियो, त्यही बेला राष्ट्रिय पशु प्रजनन कार्यालयमा मुर्रा राँगा आएकाले प्रयास गरेको सफल भयो,” रेग्मीले भने, “स्वस्थ पाडो जन्मिएको छ, भैँसीले दूध पनि राम्रै दिएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुर्रा राँगाको वीर्यबाट जन्मिएको उन्नत जातको पाडोलाई हुर्काएर गाउँका अरू भैँसीमा नस्ल सुधारमा प्रयोग गर्ने सोच बनाएको किसान रेग्मीको भनाइ छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज, गौघाटले भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट गत वर्षदेखि वीर्य संकलन सुरु गरी किसानलाई बिक्री–वितरण गर्दै आएको प्रमुख पशु विकास अधिकृत डा. खिमानन्द खनालले जानकारी दिए ।

उनका अनुसार, गत वर्ष मंसिर ७ गते ती राँगा राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट ल्याइएका थिए । नेपाल ल्याइएका १५ मध्ये नेपालगन्ज कार्यालयमा तीन मुर्रा राँगा राखिएका छन् । गौघाटमा राखिएका तीन राँगामध्ये दुईबाट वीर्य संकलन गरी किसानलाई वितरण गरिएको छ ।

खजुरामा मुर्रा राँगाको वीर्यबाट जन्मिएको पाडोलाई ५० प्रतिशत मुर्रा जातको प्रमाणपत्र दिन सकिने राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रमणमा जाँदा भारतले नेपाललाई नस्ल सुधार कार्यक्रमका निम्ति उपहारस्वरूप मुर्रा राँगा प्रदान गरेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्