site stats
बाह्रखरी :: Baahrakhari
विदेश
फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेर्तेलाई हेग लगिँदै, मानवताविरुद्धको हत्या अपराध आराेप

मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)मा उपस्थित गराउन लागिएको छ । लागुऔषधविरुद्धको घातक कारबाहीका सुनुवाइका निम्ति उनलाई हेग लगिएको हो । 

पूर्वराष्ट्रपति दुतेर्तेलाई लिएर नेदरल्यान्ड्सका निम्ति उडेको एक विमान दुबईमा केही घण्टा रोकिएपछि बुधबार पुनः उडान सुरु गरेको ‘फ्लाइट ट्रयाकिङ साइट’ले जनाएको छ ।

दुतेर्ते अझै पनि निजी स्वामित्वको विमानमा छन् वा सार्वजनिक विमानमा भनेर पुष्टि गर्न सकिएको छैन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आइसीसीका अनुसार दुतेर्तेमाथि ‘मानवताविरुद्धको हत्या अपराध’को आरोप लगाइएको छ, जसमा अधिकारवादी समूहहरूले दसौँ हजार गरिब पुरुषहरूको हत्या गरेको अनुमान गरेका छन् ।

यसैबीच, पूर्वनेतालाई मनिला फर्किने अनुमतिका निम्ति माग गर्दै बुधबार फिलिपिन्सको सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । 

बुधबार बिहान उनका वकिलले सरकारले दुतेर्तेलाई ‘अपहरण’ गरेको आरोप लगाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनकी कान्छी छोरी भेरोनिकाका तर्फबाट वकिलहरूले रिट हालेका हुन् । दायर रिटमा उनलाई फिर्ता ल्याउन माग गरिएको छ । 

फिलिपिन्सका वकिल साल्भाडोर पाओलो प्यानेलो जुनियरले फिलिपिन्सको न्यायिक प्रणालीले ‘सही तरिकाले काम गरिरहेको’ भन्दै अदालतबाहिर पत्रकारसँग भने, “आइसीसीले आफ्नो क्षेत्राधिकारको प्रयोग तब मात्र गर्न सक्छ, जब कुनै देशको राष्ट्रिय कानुनी प्रणालीले काम गर्दैन ।”

तर, राष्ट्रपति भवनकी प्रेस अधिकृत क्लेयर क्यास्ट्रोले इन्टरपोललाई सहयोग गर्नु सरकारको जिम्मेवारी र विशेषाधिकार भएको बताएकी छिन् । 

“यो फिलिपिनी मानवताविरुद्ध अपराध, विशेष गरी हत्याको आरोप लगाइएको नागरिकलाई आत्मसमर्पण गराउनु हो,” उनले भनिन् । रासस/एएफपी

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्