site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लोकतान्त्रिक अपांग संघको मतगणना अन्योलमा
कांग्रेस कार्यसम्पादन समिति बैठक ।

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था लोकतान्त्रिक अपांग संघको मतगणना अन्योलमा परेको छ । यही चैत ९ गते शनिबार भएको केन्द्रीय समितिको निर्वाचनमा अध्यक्षका उमेदवारहरूलाई नै भोट हाल्न नदिएर एकलौटी चुनाव गरिएको, एउटै व्यक्तिले पटक–पटक मतदान गरेकोसहितका उजुरी परेपछि शनिबार नै भएको निर्वाचनको मतगणना सुरु हुन सकेको छैन ।

आइतबार बसेको कार्यसम्पादन समिति बैठकमा उजुरीमाथि छलफल भएपछि निर्वाचन समिति र उजुरीकर्तासँग छलफल गरेपछि आवश्यक निर्णय लिने भन्दै मतगणना सुरु गर्ने बाटो तत्कालका लागि बन्द गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शनिबार मतदान सुरु हुनुअघि मतदानमा भोटिङ मेसिन प्रयोग गर्नुपर्ने र नगर्ने विवाद सुरु भएकोे थियो । विवादले चर्को रुप लिएपछि अध्यक्षका उमेदवारद्वय विकास थापा थापा र कल्पना खड्का पक्षले विरोध सुरु गरेको थियो । अध्यक्षका अर्का प्रत्यासी माधव चम्लागाइ पक्षले भने चुनाव गराउनुपर्ने अडान लिएको थियो ।

विरोधका बावजुत मतदान सुरु भएपछि थापा र खड्का पक्षले मतदान रोक्न दबाब दिएका थिए । तर, उनीहरू प्रहरी घेरामा परेर आफ्नै मतदानका लागि पनि जान नपाएको भन्दै छानबिन र आवश्यक कारबाहीका लागि निवेदन दिएपछि आइतबार कार्यसम्पादन समितिमा छलफल भएको थियो । छलफलपछि निर्वाचन समिति र निर्वाचनको प्रक्रियामा विरोध जनाउनेसहित सबै पक्षसँग छलफलपछि मतदानलाई मान्यता दिने वा अर्को निर्णय गर्ने भन्ने सझदारी बनेको प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए ।

अध्यक्षका प्रत्यासी चम्लागाइले भने आफ्नो पक्षमा माहोल देखेर उमेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मिलेर जाने प्रस्ताव आएको र त्यो अवस्था नबनेपछि विरोध र तोडफोड भएको बताए । उनले भइसकेको मतदानको गणना रोकिन नहुने दाबी गरे ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्