site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दशौँ राष्ट्रिय खेलकुदका निम्ति आवश्यक व्यवस्थापन गर्न शिक्षा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएको समयमा नै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीको सुर्खेतमा हुने राष्ट्रिय खेलकुद राष्ट्रिय गौरवको विषय भएकाले तोकिएको समयमा नै सम्पन्न गर्न भौतिक पूर्वाधारका साथै अन्य व्यवस्थापनको कार्यलाई तीव्रताका साथ अघि बढाउन खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले राष्ट्रिय खेलकुद आयोजनाको तयारी तथा व्यवस्थापनको कार्यलाई आबद्ध सम्पूर्ण तह, निकाय र पदाधिकारीबीच प्रभावकारी समन्वय र सहकार्य गरी अघि बढाउन समेत निर्देशन दिएको छ भने चैत्र २२ देखि २४ गतेसम्म राष्ट्रिय खेलकुदको तयारी सम्बन्धमा आयोजनास्थलको स्थलगत अवलोकन गर्ने निर्णय गरिएको समिति सभापति अम्बरबहादुर थापाले जानकारी दिए । 

बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता गराउन सबै तयारी अवस्थामा रहेको र पूर्वाधार निर्माणको कार्य तीव्र रूपमा अघि बढिरहेको जानकारी गराए । चैत्र १७ गतेमात्रै बजेटको सुनिश्चितता भएकाले समयमा नै प्रतियोगिता हुने उनले बताए । 

सरकारले तयारी नगरेका कारण यसअघि पटक–पटक राष्ट्रिय खेलकुद स्थगित गरिएको भन्दै अब भने तोकिएको समयमा नै प्रतियोगिता सम्पन्न गर्न समिति सदस्यहरूले ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्