site stats
बाह्रखरी :: Baahrakhari
देश
किन ह्वात्तै बढ्यो यूएई घुम्न जाने नेपालीको संख्या ?

काठमाडौं । नेपालीहरूको प्रमुख श्रम गन्तव्य बनेको खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई) पछिल्ला वर्षमा नेपालीको घुम्न जाने प्रमुख गन्तव्य पनि बनेको छ । यूएई सरकारले अबुधावीस्थित नेपाली दूतावासलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार, सन् २०२४ मा ४ लाख ३७ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका थिए । 

“यूएईको गृह मन्त्रालयले हामीलाई उपलब्ध गरेको विवरण अनुसार सन् २०२४ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म ४ लाख ३७ हजार नेपाली भिजिट भिसामा यूएई आएका छन्,” यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बाह्रखरीसँग भने ।

नेपालबाट भिजिट भिसामा यूएई जाने र भिजिट भिसामा यूएई पुग्ने नेपालीको संख्याबीच निकै ठूलो भिन्नता छ । यो भिन्नता आश्चर्यलाग्दो र अपत्यारिलो छ ।  गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागको तथ्याङ्कअनुसार, सन् २०२४ मा विश्वका डेढ सयभन्दा बढी देशमा २ लाख ७४ हजार ४२८ जना नेपाली भिजिट भिसामा काठमाडौंबाट गएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जति संख्यामा नेपाली भिजिट भिसामा विश्वका डेढ सयभन्दा बढी देशका लागि उडेका छन् त्योभन्दा १.५९ गुणाभन्दा बढी नेपाली यूएई पुगेको देखिन्छ ।  नेपालको अध्यागमन विभागको तथ्याङ्कले जति संख्यामा नेपाली भिजिट भिसामा यूएई गएको देखाएको छ त्यसको ४.३७ गुणाभन्दा बढी नेपाली त्यही भिसामा यूएई पुगेको यूएईको सरकारी तथ्याङ्कले देखाउँछ ।

अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२४ मा भिजिट भिसामा सबैभन्दा बढी नेपाली यूएई गएका थिए । उक्त वर्ष ९९ हजार ८८६ जना नेपाली भिजिट भिसामा यूएई गए । तर यूएईको गृह मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२४ मा भिजिट भिसामा यूएई पुग्ने नेपालीको संख्या ४ लाख ३७ हजार छ । 

यूएईका लागि नेपालबाट भिजिट भिसामा उड्ने नेपालीको संख्याभन्दा सोही भिसामा यूएई पुग्ने नेपालीको संख्या ३ लाख ३७ हजार ११४ ले बढी छ । 

“केही नेपाली भिजिट भिसामा काठमाडौंबाट सिधै यूएई आएको देखिन्छ । केही भने भारत, श्रीलंका, कतार, कुवेत, बहराइन, ओमन, साउदी अरब हुँदै आएको देखिन्छ,” राजदूत क्षेत्रीले भने । 

पछिल्ला वर्षहरूको तथ्याङ्कले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीहरू सबैभन्दा ठूलो संख्यामा जाने देश हो, यूएई । प्रत्येक वर्ष दुई लाखभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर यूएई जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ ।

तर पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका लागिभन्दा पनि घुम्न यूएई जाने नेपालीको संख्या ठूलो देखिन थालेको छ । 

राजदूत क्षेत्रीका अनुसार, सन् २०२४ मा वर्किङ भिसा (श्रम भिसा)मा यूएईमा ४ लाख ७८ हजार नेपाली थिए । यीमध्ये आधा जस्तो सोही वर्ष पुगेका हुन् भने बाँकी अघिल्ला वर्षहरूमा पुगेका हुन् ।   तथ्याङ्कले वर्किङ भिसामा यूएई जानेभन्दा दुईगुणा बढी नेपाली भिजिट भिसामा यूएई पुगेको देखिन्छ । गतवर्ष स्टुडेन्ट भिसामा १ हजार २०० नेपाली यूएइ गएका थिए । 

“पर्यटकका रुपमा ठूलो संख्यामा नेपाली यूएई आएको देखिन्छ । युरोप, अमेरिका र अष्ट्रेलियमा रहेका नेपाल पनि घुम्न यूएई आउने गरेका छन्,” यूएईका लागि नेपाली राजदूत क्षेत्रीले भने, “पछिल्लो समय परिवार नै यूएई घुम्न आउने ‘ट्रेन्ड’ बढेको छ । यसले पनि भिजिट भिसामा यूएई आउनेको संख्या बढेको हो ।” 

अध्ययागमन विभागको तथ्याङ्क अनुसार सन् २०२४ मा २ लाख ७४ हजार ४२८ र सन् २०२३ मा २ लाख ४ हजार ५१८ जना नेपाली भिजिट भिसामा विदेश गएका थिए । सन् २०२३ को तुलनामा २०२४ मा ६९ हजार ९१० जना बढी नेपाली भिजिट भिसामा काठमाडौंबाट विदेश गएको देखिन्छ ।

भिजिट भिसामा सन् २०२४ मा ९९ हजार ८८६ जना यूएई, ६४ हजार ६७८ जना भारत, ३२ हजार ५६४ जना थाइल्याण्ड, १२ हजार ३५५ जना चीन, ९ हजार ६३६ जना अष्ट्रेलिया, ५ हजार ४२४ जना मलेसिया, ५ हजार ३२५ जना सिंगापुर, ५ हजार २७० जना ओमान, ५ हजार २४४ जना अमेरिका, ४ हजार ८६१ जना जापान, २ हजार ५७९ जना बेलायत, १ हजार ५९१ जना कतार र १ हजार ४५३ जना साउदी अरेबिया गएका थिए । बाँकी २३ हजार ५६२ जना नेपाली भिजिट भिसामा अन्य देश गएका थिए । 

सन् २०२३ को तुलनामा २०२४ मा काठमाडौंबाट भिजिट भिसामा यूएई जाने नेपालीको संख्या झण्डै दुई गुणाले वृद्धि भएको छ । सन् २०२३ मा ५५ हजार ६१८ जना नेपाली भिजिट भिसामा यूएई गएका थिए । अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा ४४ हजार २६८ जना बढी नेपाली भिजिट भिसामा यूएई गएको विभागको तथ्याङ्कले देखाउँछ । 

सन् २०२३ मा पनि काठमाडौंबाट भिजिट भिसामा युएई उड्ने र भिजिट भिसामा यूएई पुग्ने नेपालीको संख्यामा ठूलो अन्तर थियो ।  सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा २ लाख ४ हजार ५१८ जना विदेश गएका थिए । यीमध्ये ५५ हजार ६१८ जना यूएई जान भनी उडेका थिए । 

यूएई सरकारले अबुधाबीस्थित नेपाली दूतावासलाई दिएको जानकारी अनुसार सन् २०२३ मा १ लाख ७५ हजार नेपाली भिजिट भीसामा यूएई पुगेका थिए । सन् २०२३ मा नेपालबाट यूएई जान भनी भिजिट भीसामा उडेका भन्दा यूएईमा भिजिट भीसामा पुग्ने नेपालीको संख्या १ लाख १९ हजार ३८२ ले बढी रहेको थियो । 

राजदूत क्षेत्रीका अनुसार, मानव तस्करहरूले पनि केही नेपालीलाई प्रलोभन देखाई भिजिट भिसामा यूएई पुर्याउने गरेका छन् । कसैलाई अमेरिका पुर्‍याउने र कसैलाई युरोपका देशहरू, पछिल्लो समय रुसी सेनामा भर्ती गराउने प्रलोभन देखाई नेपालीलाई भिजिट भीसामा यूएई पुर्‍याउने गरेको पाइन्छ । 

यसरी यूएई पुग्नेहरू काठमाडौंबाट सिँधै नगई भारत, बंगलादेश, श्रीलंकालगायतका देश हुँदै जाने गर्छन् । तर पछिल्लो समय घुम्नकै लागि यूएई जानेहरूको संख्या ठूलो छ । 

अध्यागमन विभागका अनुसार सन् २०२२ मा भिजिट भिसामा विदेश जाने नेपालीको संख्या १ लाख ७७ हजार ३१० थियो । तर उक्त वर्ष भिजिट भिसामा २ लाख ५५ हजार नेपाली यूएई पुगेका थिए ।  उक्त वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा जति नेपाली विदेश गएका थिए त्यो संख्याभन्दा बढी भिजिट भिसामा यूएई पुग्नेको थियो । 

पछिल्ला वर्षहरूमा भिजिट भिसामा यूएई जानेको संख्या बढ्दो छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२० को अगष्टदेखि डिसेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा यूएई जानेको संख्या मात्र ७ हजार ७४९ रहेको थियो । 

सन् २०२१ मा आउँदा भिजिट भिसामा यूएई जानेको संख्या ह्वात्तै बढेको थियो । सन् २०२१ मा ७२ हजार ९४ जना नेपाली भिजिट भिसामा त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएई गएका थिए ।
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्