site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बलात्कार मुद्दामा हाई कोर्टको टिप्पणी : महिला आफैँ जिम्मेवार

काठमाडौं । भारतको इलाहाबाद हाई कोर्ट एक फैसलाका कारण फेरि एकपटक चर्चामा आएको छ । बलात्कार मुद्दामा हाई कोर्टले अप्रिल १० मा गरेको टिप्पणीले विवाद निम्त्याएको हो । हाई कोर्टले आरोपीलाई जमानत दिँदै महिला आफैँले समस्या निम्त्याएको र उनलाई जे भयो त्यसका निम्ति उनी आफैँ जिम्मेवार रहेको बताएको थियो । 

न्यायाधीश सञ्जय कुमारले यो मुद्दाको सुनुवाइ गरेका थिए। उत्तर प्रदेशमा एमएकी एक छात्राले आफ्नो पुरुष साथीमाथि बलात्कारको आरोप लगाएकी थिइन् । यो मुद्दा सेप्टेम्बर २०२४ को हो । यस मुद्दामा अभियुक्तको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश सञ्जय कुमारले आरापितलाई जमानत दिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कानुनी मामिलामा समाचार प्रकाशित गर्ने पोर्टल ‘बार एन्ड बेन्च’का अनुसार सेप्टेम्बर २०२४ मा, ती छात्रा आफ्ना तीन महिला साथीसँग दिल्लीको एक बारमा गएकी थिइन् । जहाँ उनीहरूले चिनेका केही पुरुषलाई भेटे, जसमध्ये एक अभियुक्त पनि थिए ।

प्रहरीलाई दिएको उजुरीमा, छात्राले आफू रक्सीको नसामा रहेको र त्यतिबेला पनि आरोपित व्यक्ति आफ्नो नजिक आइरहेको बताएकी थिइन् । उनीहरू बिहान ३ बजेसम्म बारमा थिए र अभियुक्तले विद्यार्थीलाई आफूसँगै जान भनिरहेका थिए । 

आरोपित व्यक्तिले धेरैपटक आग्रह गरेपछि उनी आराम गर्न उनको घर जान राजी भएको विद्यार्थीले बताइन् । तर आरोपित व्यक्तिले उनलाई नोएडास्थित आफ्नो घरमा लैजानुको सट्टा आफ्नो आफन्तको फ्ल्याटमा लगे । जहाँ उनले छात्रालाई बलात्कार गरे । 

विद्यार्थीको उजुरीमा, प्रहरीले डिसेम्बर २०२४ मा एफआईआर दर्ता गर्‍यो र आरोपित व्यक्तिलाई पक्राउ गर्‍यो । आरोपित व्यक्तिले आफ्नो जमानत निवेदनमा अदालतलाई बताएअनुसार त्यसबेला महिलालाई सहयोगको आवश्यकता थियो । उनी आफैँ उनीसँगै जान राजी भइन् । आरोपित व्यक्तिले बलात्कारको आरोप अस्वीकार गर्दै दुईजनाबीच सहमतिमा यौन सम्बन्ध भएको बताएका छन्। 

जमानत निवेदनको सुनुवाइ गर्दै अदालतले भन्यो, “पीडितको आरोप सत्य मानिए पनि, महिला आफैँले समस्या निम्त्याएको र घटनाको लागि उनी आफैँ जिम्मेवार भएको निष्कर्ष निकाल्न सकिन्छ भन्ने अदालतको विश्वास छ । ती महिलाले आफ्नो बयानमा पनि यस्तै कुरा भनेकी छिन् । उनको मेडिकल जाँचको क्रममा पनि डाक्टरले यौन दुर्व्यवहारको बारेमा केही उल्लेख गरेन ।” 

न्यायाधीश सञ्जय कुमारले महिला स्नातकोत्तर भएकी र आफ्नो कार्यको नैतिकता र महत्त्व बुझ्न सक्षम भएको पनि बताए । उनका अनुसार, “सबै तथ्य र परिस्थिति, साथै अपराधको प्रकृति, प्रमाण, दुवै पक्षको बयानलाई ध्यानमा राख्दै, मलाई विश्वास छ कि निवेदक जमानत पाउन योग्य छन् । त्यसैले जमानत दिइएको हो ।” बीबीसी

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २२:००
प्रतिक्रिया दिनुहोस्