site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘एन्फा र टुसालले खेलाडीले खेल्न पाउनुपर्ने अधिकार हनन गरे’

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगको क्लब सरस्वती क्लबले धीरेन्द्रबहादुर शाहलाई लगाइएको प्रतिबन्ध आधारहीन रहेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको खेल्न पाउने अधिकार हनन गरेको बताएको छ ।

क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै बी डिभिजन लिगकै अर्को क्लब श्री टुसाल युवा क्लब र एन्फाको लापरबाहीका कारण धीरेन्द्रको खेल करियर नै धरापमा परेको जनाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“क्लबले खेलाडी दर्ता गर्नुपर्ने सबै प्रक्रिया पूरा गरी, सबै कागजात रुजु गरी एन्फाले स्वीकृत गरेपछि मात्र खेलाडीलाई मैदान उतारेको थियो । तर, हामीले पहिलो दुई खेल जित्दा गोल गरेका खेलाडी धीरेन्द्रलाई दुई खेलपछि अनावश्यक रूपमा विवादमा ल्याउँदा अहिले टिमको लय नै बिग्रिएको छ । क्लब र एन्फाले गरेको यस्तो गलत कार्यले खेलाडीको भविष्य नै अन्योलमा परेको छ,” पत्रकार सम्मेलनमा सरस्वतीका अध्यक्ष उत्तमराज भण्डारीले भने ।

सरस्वतीले धीरेन्द्र र टुसालबीचको सम्झौता २०८० सालमै सकिएको जनाएको छ । यस्तै, उक्त सम्झौतामा उल्लेख भएको २० प्रतिशत पहिलो किस्ता पनि नदिएको/नपाएको हुँदा उक्त करार स्वतः निष्कृय हुने कानुनी व्यवस्था हुदाँहुदै पनि क्लबले दाबी गरेको र एन्फाले स्वीकार गरेको, एन्फाले दर्ता प्रक्रिया हुँदा करारमा रहेका खेलाडी सूची उपलब्ध गराउन पत्रचार गरेकोमा टुसालबाट कुनै प्रतिक्रिया नआएको, ५० जनासम्म खेलाडी प्रतियोगिता अगाडि पनि दर्ता गर्न पाइने सुविधा हुँदा पनि खेलाडीको नाम दर्ता नगरेको, टुसालले धीरेन्द्रलाई आफ्नो क्लबबाट पनि नखेलाउने र अन्य क्लबबाट पनि खेल्न नदिने नियत राखेर बिबाद सिर्जना गरेको जस्ता आरोप सरस्वतीको छ ।

सरस्वतीबाट बी डिभिजन लिगका दुई खेल खेलेका धीरेन्द्रले पनि आफूले टुसालबाट ‘रिलिज पेपर’ माग्दा नदिएको बताए । टुसालले एन्फालाई अरु कुनै क्लबबाट पनि लिग खेल्न नदिनु भनेर पत्र लेख्नुले आफूसँग व्यक्तिगत रिसिइबी देखाइएको बताए ।

“मैले रिलिज पेपर माग्दा दिनुभएन । यहीबाट खेल भन्नुहुन्थ्यो । तर, सबै साथीहरू सरस्वती आएको हुँदा म पनि यतै आए । त्यहीकारण उहाँहरूले अरु क्लबबाट बी डिभिजन लिग खेल्न नदिनु भनेर एन्फालाई पत्र लेख्नुभएको रहेछ,” धीरेन्द्रले भने ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्