site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वास्थ्यमन्त्रीको निर्देशन– आवासीय चिकित्सकलाई तत्काल ४८ हजार तलब दिनू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजलाई निर्देशन दिएका छन् ।

बिहीबार नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिबीच मन्त्रालयमा भएको वार्तामा मन्त्री पौडेलले आवासीय चिकित्सकको सुविधा मासिक ४८ हजार ७०० रुपैयाँ कायम गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर, निजी मेडिकल कलेजले आयोगको निर्णय कार्यान्वयन नगरेको भन्दै आवासीय चिकित्सक आन्दोलित भएका हुन् ।

मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजलाई सरकारले दिने कुनै पनि सुविधा उपलब्ध नगराउने बताए । मन्त्री पौडेलले आन्दोलन फिर्ता लिएर मुलुकको उपचारात्मक प्रणालीमा सहयोग गर्न समेत चिकित्सकलाई आग्रह पनि गरेका छन् ।

"अब चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन नगर्ने कलेजलाई मन्त्रालय र सरकारबाट हुने सहयोग नगरिने स्पष्ट पार्न चाहन्छु । आवासीय चिकित्सले ४८ हजार रुपैयाँ तलब नपाएसम्म सरकारले सहयोग गर्दैन," मन्त्री पौडेलले भने ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले नेपालमा अध्ययनरत आवासीय चिकित्सकलाई हप्तामा बढीमा ७२ घण्टामात्रै काम गर्न लगाउन भनी मेडिकल कलेजको नाममा सर्कुलर जारी गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्