site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सातबुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस–एमालेलाई दबाब दिनुस् : गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सातबुँदे सहमति कार्यान्वयन गर्न आफ्नो पार्टी र नेकपा (एमाले)लाई दबाब दिनुपर्ने बताएका छन् । शनिबार (वैशाख १३) काठमाडौंमा स्याङ्जा पत्रकार समाज नेपालले आयोजना गरेको कार्यक्रममा उनले सरकार कहिले ढल्छ होइन, दुई पार्टीबीचको सातबुँदे सहमति कार्यान्वयनबारे नेताहरूलाई प्रश्न गर्न आग्रह गरे ।

इतिहासमा हालसम्मकै बलियो वर्तमान सरकार भएको उनले उल्लेख गरे । सरकार ढल्ने/नढल्ने बहसको विषय नै नभएको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामी बलिया छौँ, यति बलियो सरकारलाई आज पनि ढल्छ भनेर लेख्दिया छ,” उनले भने, “भोलि उठ्यो, हेर्‍यो फेरि सरकार ढल्छ भनेर लेख्द्या हुन्छ । अनि, हामीहरूले सरकार ढल्दैन भनेर उत्तर दिनु परेकै छ ।” 

उनले देशलाई स्थायित्व प्रदान गर्न वर्तमान सरकार बनेको बताए । जनताका पक्षमा काम नगर्ने छुट यो सरकारलाई नभएको उनले धारणा राखे ।

उपसभापति गुरुङले विद्यालय शिक्षा विधेयक छिटो अघि बढाउन संसदीय समितिले तत्परताका साथ काम गरिरहेको बताए । शिक्षकले पनि आन्दोलन रोकेर उचित वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । सबैको राय समेटेर ऐन बनाउनुपर्ने भएकाले ढिला भएको उनको भनाइ थियो ।

नेता गुरुङले राजसंस्थाको माग गर्दै भइरहेको आन्दोलनको कुनै औचित्य नरहेको टिप्पणी गरे ।

स्याङ्जाको ‘लाइफलाइन’का रूपमा रहेको सिद्धार्थ राजमार्गबारे अबको नीति तथा कार्यक्रममा सम्बोधन हुने र बजेट समेत विनियोजन गरिने उनले बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्