site stats
बाह्रखरी :: Baahrakhari
खेल
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन

काठमाडौं । नेपाल आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ । सिंगल राउन्ड रोबिन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । चार टोली सहभागी प्रतियोगितामा अपराजित आर्मीले सर्वाधिक ९ अंक जोड्यो ।

च्यासल मैदानमा आर्मीले फाइनल सरहको लिगको अन्तिम खेलमा सोमबार गण्डकी प्रदेशलाई ३–० गोलअन्तरले पराजित गर्‍यो । आर्मीका लागि दमरा भट्टले दुई तथा सीतामाया बलले एक गोल गरे । दमरा फाइनलको ‘प्लेयर अफ दी म्याच’ बनिन् । गण्डकी दुई खेलमा जित र एकमा हार बेहोर्दै ६ अंकसाथ दोस्रो भयो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा तीन अंकका साथ मधेस प्रदेश तेस्रो भयो । मधेसले वाग्मती प्रदेशलाई १–० गोलले हरायो । सो टोलीकी भावना राईले निर्णायक गोल गरिन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार हात पारे ।

आर्मीकी निलिमा पाण्डे प्रतियोगिताकै उत्कृष्ट खेलाडी भइन् भने मधेसकी खुश्बुकुमारी उदीयमान खेलाडी बनिन् । गोलरक्षकमा अनिशा थापामगर तथा डिफेन्समा सोनु बराल उत्कृष्ट ठहरिए । दुवै गण्डकीका हुन् । प्रतियोगिताभर पाँच गोल गरेकी आर्मीकी कमला चन्द सर्वाधिक गोलकर्ता बनिन् । उत्कृष्ट पाँचैले जनही पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य एवं हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी, हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा, सचिव असिम शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्