site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले भने– अमेरिका आयात गरिने चिनियाँ वस्तुमाथिको कर एक समयमा गएर घटाइन्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आफ्नो देशमा आयात गरिने वस्तुमाथि लगाइएको कर एक समयमा गएर घटाइने बताएका छन् । योसँगै पछिल्ला दिनमा चीन र अमेरिका दुवै देशले सम्भावित व्यापार वार्ताका विषयमा आफ्नो अडान केही नरम बनाएको देखिएको सीएनएनले जनाएको छ ।

“कुनै न कुनै समयमा आएर ती महसुल घटाउनेछु, किनभने त्योबिना तपाईं उनीहरूसँग व्यापार गर्न सक्नु हुन्न,” उनले एनबीसी टेलिभिजनसँगको एक अन्तर्वार्तामा भने, “चीन व्यापार गर्न निकै इच्छुक छ, किनभने चीनको अर्थतन्त्र ध्वस्त हुँदै छ ।”

विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्रबीचको प्रतिशोधात्मक कदमका कारण चिनियाँ उत्पादनमा अमेरिकी आयात कर १४५ प्रतिशतसम्म पुर्‍याइएको छ । चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत महसुल लगाएको छ । तर, पछिल्ला दुई हप्तामा दुवै पक्षको धारणामा केही नरमपन भएको देखिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आइतबार प्रसारित अन्तर्वार्तामा ट्रम्पले महसुलका कारण चीनमा परेको प्रभावका विषयमा उल्लेख गरे । चीनका कारखाना बन्द भएका र अत्यधिक बेरोजगारी बढेको उनले बताए ।

तर, उनले आयात कर घटाउने विषयमा आफूले पहिलो कदम नचाल्ने स्पष्ट पारे । ‘तपाईं वार्ताका निम्ति चीनसँग महसुल घटाउने तयारीमा हुनुहुन्छ ?’ भन्ने वेल्करको प्रश्नमा ट्रम्पले भने, “म त्यो किन गर्ने ?”

शुक्रबार चीनको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले अमेरिकासित व्यापार वार्ता सुरु गर्ने प्रस्तावको मूल्यांकन भइरहेको बताएका थिए । तर, ट्रम्पले ‘एकातर्फी आयात कर वृद्धि रद्द गर्नुपर्ने’ माग गरेका थिए ।

आइतबार ट्रम्पले एयरफोर्स वान विमानमा पत्रकारसँग यो हप्ता चिनियाँ नेता सी चिनफिङसँग कुरा गर्ने योजना नभएको बताएका थिए । तर, चीन र उनका प्रतिनिधिले विभिन्न विषयमा छलफल गरिरहेका उनले उल्लेख गरेका थिए ।

अमेरिकी आयात करले चीनको निर्यातमा निर्भर अर्थतन्त्रमा प्रभाव पार्न थालेको बताइएको छ । आधिकारिक तथ्यांकानुसार, अप्रिलमा त्यहाँको उत्पादन गतिविधि १६ महिनामा सबैभन्दा धेरै घटेको देखिएको छ । र, नयाँ निर्यात अर्डर सन् २०२२ को महामारीको अवधिपछिको सबैभन्दा न्यूनस्तरमा झरेको बताइएको छ ।

ट्रम्पले चीनसँग ‘न्यायपूर्ण व्यापार सम्झौता’ चाहेका छन् । तर, चीनले वर्षौंदेखि व्यापारका नाममा अमेरिकाबाट फाइदा उठाइरहेको उनले बताउँदै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्