site stats
बाह्रखरी :: Baahrakhari
देश
बिर्तामोडका पूर्वमेयरलाई २० लाख धरौटीमा रिहा गर्न आदेश

विराटनगर । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई अदालतले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

उच्च अदालत विराटनगर, इलाम इजलासमा सुनुवाइ गर्दै न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेले बिहीबार शिवाकोटीलाई धरौटीमा छाड्न आदेश दिएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि जिल्ला अदालतले घरेलु कामदारका रूपमा रहेकी एक  १५ वर्षीया नाबालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा शिवाकोटीलाई पुर्पक्षका लागि थुुनामा पठाउन  आदेश दिएको थियो ।‌ जिल्ला अदालत झापाले शिवाकोटीलाई ०८१ पुस २२ गते ‘निर्दोष हुन् भन्न सकिने स्थिति नभएको’ भन्दै पुर्पक्षमा पठाएको हो । 

तर, शिवाकोटी तीन महिनासम्म बिर्तामोडको बीएन्डसी अस्पतालमा बसेका थिए । ‘बेरीतको आदेश बदर गरिपाऊँ’ भन्दै शिवाकोटीले उच्च अदालतमा निवेदन दिएका थिए । बिहीबार उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोग शिवाकोटीमाथि लागेको थियो । बालिकाले ‘पहिले यसबारे कहिल्यै नभनेको, तर आफन्त नेपाल नामक संस्थाको सम्पर्कमा आएपछि मात्रै यसबारे भन्न थालेको’ अदालतको आदेशमा उल्लेख छ । 

बालिकामाथि तीन वर्षदेखि करणी हुँदै आएको भन्दै उनकी हजुरआमाले किटानी जाहेरी दिएकी थिइन् । ०८१ मंसिर १५ को जबरजस्ती करणीको वारदात देखाई ०८१ मंसिर २४ मा जाहेरी परेको देखिन आएको अदालतले उल्लेख गरेको छ । 

पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञको रायमा ‘हिस्ट्री एन्ड एक्जामिनेसन डज नट एड्ज्याक्टली म्याच’ भन्ने उल्लेख भएको अदालतको आदेशमा उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  २२:३६
प्रतिक्रिया दिनुहोस्