site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल भित्रिने र बाहिरिने विमानको समय लम्बियो

काठमाडौं । भारत र पाकिस्तानबीचको तनावका कारण नेपाल आउने र जाने उडान प्रभावित हुन थालेका छन् । गत बुधबार (वैशाख २४ गते) बिहान भारतले हवाई आक्रमणपछि दुई देशबीच तनाव सुरु भएको थियो । दुई देशबीचको तनावका कारण नेपाल आउने र यहाँबाट विदेशिने जहाजमा अतिरिक्त समय र भार थपिएका छन् ।

यसले उडान तालिका प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विशेष गरी, मध्यपूर्व र युरोपको जहाज एक घण्टा ढिलो भइरहेको कार्यालयले जनाएको छ ।

“मध्यपूर्व र युरोपबाट आउने जहाज एक घण्टा डिले भइरहेको छ,” उनले भने, “भाडादरमा ठ्याक्कै परिवर्तन देखिएको छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अहिले पाकिस्तान हुँदै आउने जहाजले त्यहाँको आकाश प्रयोग गरेका छैनन् । यसले गर्दा एक घण्टा ढिला भएको निरौला बताउँछन् ।

“पाकिस्तानको आकाश प्रयोग गर्न नपाएपछि घुमेर भारतको क्षेत्र हुँदै आउनुपरेको छ,” उनले भने, “युरोप तथा मध्यपूर्वबाट आउने उडान समस्या परेका छन् ।”

युरोप तथा मध्यपूर्वबाट नेपाल आउने र जान गरी करिब १५ जहाजको उडान समय लम्बिएको निरौलाले बताए ।

मध्यपूर्वबाट कतार एयरवेज, फ्लाई दुबई, जजिरा र कुवेत एयरवेज एयर अरेबियालगायत विमानले नेपाल उडान गरिरहेका छन् ।

तनावअघि इरान, अफगानिस्तान, पाकिस्तान हुँदै दिल्लीको हवाई रुटमार्फत उडान गर्न छोटो रुट हुन्थ्यो । पाकिस्तान र भारतबीचको तनावपछि हाल कतारबाट दुबई, ओमन हुँदै अरबियन सागर, मुम्बई हुँदै नेपाल भित्रिने र बाहिरिने गर्न थालेका छन् ।

नेपालबाट बाहिरिन सिमरा हुँदै भारतको लखनऊ, मुम्बई हुँदै अरेबियन सागरतर्फ मोडिने गरेको महाप्रबन्धक निरौलाले जनाए ।

उडान समय लम्बिए पनि भाडादरमा हालसम्म परिवर्तन नभएको निरौलाले बताए । “युद्ध भर्खरै सुरु भएका कारण भाडादरमा परिवर्तन भएको भन्ने सूचना पाएको छैन,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्