site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
घरमा आगो जलाएर खरानी नाफा भएजस्तो अवस्था आयो : सांसद मैनाली

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन उपसमितिको प्रतिवेदनमाथि सार्वजनिक लेखा समितिमा जारी छलफलका क्रममा सांसद अच्युत मैनालीले प्रतिवेदनमा पूर्वाग्रह र आक्रोश झल्किने ढंगले प्रस्तुत गरिएकामा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनले निर्माणसम्बन्धी विषयमा पनि प्राविधिक र प्रक्रिया आधारित विश्लेषण आवश्यक रहेको भन्दै भने, “निर्माणको कुरा गर्दा लागतको कुरा गरिन्थ्यो, अहिले अनुमानित लागत तयार गर्नु, ईपीसी मोडेल र बीओक्यु मोडेल के थिए भन्ने कुरा थियो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मैनालीले कसैप्रति व्यक्तिगत आग्रह वा पूर्वाग्रह नराखिनुपर्नेमा जोड दिँदै भने, “नाम टिपेर आरोप लगाउनु भ्रष्टाचार नै हो । विविध विषयमा प्रश्न उठेका छन् भने सबैलाई बोलाएर राय लिनुपर्छ, विज्ञहरूसँग पनि सुझाव लिऊँ ।”

उनले प्रतिवेदनमा समेटिएको शैलीले देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय सन्देश पनि नकारात्मक गएको बताउँदै भने, “हामीलाई अन्तर्राष्ट्रिय जगतसँग हात फैलाउनु छ, लगानी ल्याउनु छ। तर यस्तो प्रतिवेदनले एउट–(एउटा नेगेटिभ सन्देश मात्र दिइरहेको छ । नेपाल भ्रष्टाचारको मुलुक भयो ।”

राम्रो काम भएको नदेखाएर सम्पूर्ण प्रणालीलाई बदनाम गर्नुको सट्टा सुधारका लागि संवाद र समन्वय हुनुपर्ने उनले बताए । “यो काम तिमीहरूले गर्न बाँकी रहेछ भनेर उनीहरूलाई काम गराउन सकेको भए अझ राम्रो हुने थियो,” उनले भने ।

अन्त्यमा उनले चेतावनीपूर्ण शैलीमा भने, “हामी अहिले घरमा आगो लगाएर खरानी नाफा भएको ठान्ने अवस्थामा पुगेका छौँ । यसरी अग्ला संरचना ढाल्ने शैलीले देशलाई फाइदा गर्दैन ।”

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्