site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चामलको बारेमा ठट्टा गर्दा जापानका कृषिमन्त्रीको पद गुम्यो

काठमाडौं । जापानका कृषिमन्त्री ताकु इटोले चामलमा भइरहेको मूल्यवृद्धिको प्रसंगमा एउटा ठट्टा गर्दा आफ्नो पद नै गुमाएका छन् ।

जापानले धेरै दशकयता पहिलोपटक धेरै महँगीको सामना गरिरहेको छ । यसले मुख्य खाद्यान्न चामललाई प्रभावित गरेको छ । गत वर्ष चामलको मूल्य दोब्बरभन्दा धेरैले बढेको छ । 

कृषिमन्त्री ताकु इटोले आइतबार स्थानीय ‘फन्डरेजिङ’ कार्यक्रममा बोल्दै भनेका थिए, “मलाई कहिल्यै चामल किन्नुपर्दैन किनभने भने मलाई मेरा समर्थकले उपहारमा धेरै चामल दिन्छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो उनले ठट्टा गर्दै भनेका थिए । तर मन्त्री ताकु इटोको यो ठट्टाले  हाँसो होइन, उल्टो आक्रोश पैदा ग¥यो र उनी पदबाटै राजीनामा दिन बाध्य भए ।

इटोले आफूले सीमा नाघेकोमा माफी मागेका थिए । विपक्षी दलहरूले अविश्वास प्रस्ताव ल्याउने धम्की दिएपछि उनले राजीनामा दिएका हुन् ।

उनको राजीनामाले अल्पमत सरकारका प्रधानमन्त्री शिगेरु इशिबालाई नयाँ झट्का दिएको छ । उनको सरकारप्रति यसअघि नै जनताको समर्थन घटिरहेको बताइएको छ ।

जापानमा चामल संवेदनशील मुद्दा हो । यसको अभावले यसअघि पनि राजनीतिक उथलपुथल ल्याएको थियो । सन् १९१८ मा चामलको बढ्दो मूल्यका कारण भड्किएको दंगाले सरकार नै ढालेको थियो ।

अहिले पनि चामलको मूल्यवृद्धिका कारण नै इशिबाको लोकप्रियतामा गिरावट ल्याउन भूमिका खेलेकोमा दुईमत छैन ।

“राजनीतिज्ञहरू सामान किन्न सुपरमार्केट जाँदैनन्, त्यसैले उनीहरूले बुझ्दैनन्,” बीबीसीसँग कुरा गर्दै ३१ वर्षीया मेमोरी हिगुचीले भनिन् ।

हिगुची सात महिनाकी एक नवजात शिशुकी आमा हुन् । प्रसूतिपछिको स्वास्थ्यलाई मद्दत गर्ने राम्रो खाना उनको लागि महत्त्वपूर्ण छ । उनकी छोरी चाँडै नै ठोस खाना खान थाल्ने हुँदै छिन् ।

“म उनलाई राम्रो खुवाउन चाहन्छु, त्यसैले यदि मूल्य बढ्दै गयो भने, हामीले आफैँले खाने चामलको मात्रा घटाउनुपर्छ,” उनले भनिन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्