site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिका चुप लागेर बस्दा पुटिनलाई प्रोत्साहन मिलेको जेलेन्स्कीको आरोप

काठमाडौं ।  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनविरुद्ध रुसले हालै गरेका आक्रमणपछि अमेरिका चुप लागरे बस्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रोत्साहन मिलिरहेको आरोप लगाएका छन् । 

रुसले अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेपछि जेलेन्स्कीले यो आरोप लगाएका हुन् । रुसले युक्रेनविरुद्ध गएराति ३६७ ड्रोन र मिसाइल प्रहार गरेको थियो । उक्त आक्रमण सन् २०२२ मा रुसले आक्रमण सुरु गरेयताकै एकै रातमा सबैभन्दा धेरै ड्रोन र मिसाइल प्रहार भएको बीबीसीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

युक्रेनभर व्यापक रूपमा गरिएको उक्त आक्रमणमा (३ बच्चासहित कम्तीमा १२ जना मारिएका छन् । दर्जनौँ घाइते भएको समाचारमा उल्लेख छ । 

रूसी नेतृत्वलाई कडा दबाब नदिएसम्म रूसको अमानवीय कदमलाई रोक्न नसकिने जेलेन्स्कीले बताएका छन् ।

युक्रेनी वायु सेनाले स्थानीय समयानुसार शनिबार राति ८ः४० देखि रूसले २९८ ड्रोन र ६९ क्रुज तथा ब्यालिस्टिक मिसाइल युक्रेनविरुद्ध प्रयोग गरेको बताएको छ । यसमा ४५ क्रुज मिसाइल र २६६ ड्रोन नष्ट गरेको वायु सेनाले दाबी गरेको छ । यसबाट युक्रेनको धेरै क्षेत्र प्रभावित भएको छ । २२ स्थानमा आक्रमण भएको छ । जेलेन्स्कीले ३० भन्दा बढी सहर र गाउँहरूमा उद्दारकर्मीहरू कार्यरत रहेको बताए ।

युद्धबिरामका लागि अन्तर्राष्ट्रिय आग्रह बढ्दै गए पनि रूसले युद्धविरामको मागलाई बेवास्ता गर्दै हवाई अभियान तीव्र पार्दै गइरहेको छ । यसले युद्ध रोकिने संकेत देखाएको छैन ।

यसअघि पुटिनले युद्ध रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति लक्षित गर्दै जेलेन्स्कीले भने, “संसार भ्याकेसन (छुट्टी)का लागि जान सक्छ । तर, युद्ध सप्ताह अन्तत र नियमित दिनहरूमा पनि जारी रहन्छ । यसलाई बेवास्ता गर्न सकिँदैन । अमेरिका र विश्वका अन्य देशहरूले यसबारेमा केही नबोल्दा पुटिनलाई प्रोत्साहन मिलिरहेको छ ।” 

जेलेन्स्कीले अमेरिका चुप लागेर बसेको भन्नुको अर्थ सम्भवतः अमेरिकाले रुसविरुद्ध थप प्रतिबन्ध लगाउन असहमति जनाएको हुनसक्ने बताइएको छ । रूसले युक्रेनमा आक्रमण जारी राख्दा अमेरिकाले अहिलेसम्म कडा कदम चाल्न अस्वीकार गरेको छ । बीबीसी

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्