
काठमाडौं । भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव जेठ २ गते अचानक काठमाडौंको थापाथलीस्थित एकता बुक्समा देखिए ।
उनी नेपाल सरकारले जेठ २ देखि ४ गतेसम्म आयोजना गरेको ‘सगरमाथा संवाद’मा सहभागी हुन काठमाडौं आएका थिए । त्यसैको छेको पारेर उनी एकता बुक्समा छिरेका थिए । उनको साथमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि थिए ।
केही थान पुस्तक खरिद गरी उनीहरू एकता बुक्सबाट बाहिरिए । खासगरी राजनीतिक विषयसँग सम्बन्धित पुस्तक उनीहरूको रोजाइमा परेका थिए ।
उनीहरू बाहिरिए लगत्तै एकता बुक्सले आफ्नो फेसबुक पेजमा लेखेको थियो, “उहाँहरूको भ्रमण हाम्रा लागि गौरवको क्षण थियो, जसले ज्ञान, सांस्कृतिक आदानप्रदान र समाजमा पुस्तकहरूको स्थायी महत्वप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।”
ठिक एक वर्षअघि अर्थात् २०८१ वैशाख २३ गते काठमाडौंको जमलस्थित मण्डला बुक पोइन्टमा यस्तै दृश्य देखिएको थियो । त्यहाँ नेपाल भ्रमणमा आएकी तत्कालीन जापानकी विदेशमन्त्री खामिखावा योका गएकी थिइन् । केही पुस्तक किन्न उनी आफैँ मण्डला बुक गएकी थिइन् ।
जापानी विदेशमन्त्रीले ‘गाईजात्रा’, ‘भतिजीहरू’, ‘बिस्केट जात्रा’, ‘विख्यात’, ‘घरपालुवा बिरालो’, ‘सेभेन फिस इनसाइड’, ‘जमन गुवाजु’ नामक बालबालिकासम्बन्धी चित्र पुस्तक किनेकी थिइन् ।
यस्तै उनले ‘सार्वजनिक जीवनमा महिला’ नामक तस्बिर पुस्तक, महिला सशक्तीकरण, भू–राजनीति, नेपालको ‘ल्यान्डस्केप’सम्बन्धी पुस्तक पनि किनेकी थिइन् । नेपाल भ्रमणमा आउने विदेशी उच्चस्तरीय पाहुना आफँै पसलमा पुगी सामान खरिद कमै गर्छन् । यसै कारण माथि उल्लेख गरिएजस्ता दृश्य दुर्लभ मानिन्छन् ।
खासगरी सुरक्षाका कारण पसलमा धेरैजसो विदेशी उच्चस्तरीय पाहुना आफैँ जान चाहँदैनन् । कोही कोही भने आफैँ पसल पुग्दै सामान जाँचेर मात्र किन्न चाहन्छन् । तर कस्तो सामान किन्ने भन्ने उनीहरूको रुचिमा भरपर्छ ।
“के सामान किन्ने भन्ने चाहिँ उच्चस्तरीय पाहुनाको रुचिमा भरपर्छ । यस्तो किन्नुस् भनी हामीले भन्न मिल्दैन । उहाँहरूले सोध्नुभयो भने सुझावसम्म दिन सकिन्छ,” पूर्व परराष्ट्रसचिव मदन भट्टराईले बाह्रखरीसँग भने ।
भट्टराईका अनुसार, पहिले–पहिले नेपाल भ्रमणमा आउने विदेशी उच्चस्तरीय पाहुनाले ह्यान्डी क्राफ्ट, पस्मिनाको सल, नेपाली कार्पेट खरिद गर्थे । तर ती सामग्रीमा गुणस्तर खस्केपछि चासो घट्दै गएको छ ।
विदेशी पाहुनाले आफ्नो देशमा नपाउने नेपालको उत्पादन वा वस्तुमा बढी आँखा लगाउने गर्छन् ।
“क्युरियो, एन्टीक, हातले बुनेको कपडा जस्ता सामग्री विदेशी पाहुनाले धेरै किन्ने वस्तुमा पर्छन्,” पूर्वराजदूत मधुवन पौडेलले बाह्रखरीसँग भने ।
नेपाल भ्रमणमा आउने उच्चस्तरीय पाहुनाले भन्दा पनि उनीहरूसँग आउने परिवारका सदस्यले धेरै सामान किन्ने गर्छन् । कुनै समय सामान बनाउँदै गरेको स्थलमै पुगेर विदेशी पाहुनाले सामान किन्ने गर्थे, तर अब यस्तो कमै हुन्छ । त्यस निम्ति भक्तपुर विशेष थियो ।
“कति विदेशी उच्चस्तरीय पाहुनाले त आफैँ हेरेर, जाँचेर मात्र होइन र बार्गेनिङ गरेर खरिद गर्छन्,” पूर्वराजदूत पौडेलले भने, “के यो ‘फिक्स्ड’ मूल्य हो ? भनी सोध्छन् पनि ।”
‘सपिङ’ मा रूचि राख्ने विदेशी उच्चस्तरीय पाहुनालाई खासगरी बसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, न्यूरोड, बौद्धनाथ वरपर रहेका ठूला पसलहरूमा लग्ने गरिन्छ । पुस्तक किन्न चाहनेलाई ठूला पुस्तक पसलमा लगिन्छ । पसलको छनोट गर्दा सुरक्षालाई विशेष ध्यान दिइन्छ ।
“एकपटक श्रीलंकाको मन्त्रीले स्वयम्भ्युनाथको बाहिर रुद्राक्षको माला किन्नुभएको थियो,” पूर्वराजदूत पौडेलले बताए । पछिल्लो समय धेरै विदेशी पाहुनाले रुचाएको नेपाली वस्तुमा ‘नेपाली कागजको झोला’ पर्छ ।
खासगरी घुम्न र किनमेलका लागि लैजाने ठाउँको तय पाहुनामा पनि निर्भर हुन्छ । अझ ती पाहुना कुन क्षेत्रका हुन् भन्नेले पनि धेरै अर्थ राख्छ ।
तर पनि धेरैलाई घुम्न प्रस्ताव गर्ने र उनीहरूले पनि रोज्ने ठाउँ भनेको बसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र नै हुन् । ती क्षेत्रमा एकै ठाउँमा धेरै कुरा देखाउन मिल्ने हुँदा पनि पहिलो रोजाईमा पर्ने गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार, बुद्ध धर्मको प्रभाव भएका देशहरू थाइल्यान्ड, म्यानमार, श्रीलंका, कम्बोडिया, लाओस जस्ता देशबाट आउने उच्चस्तरीय पाहुनाहरू स्वयम्भुनाथ, बौद्धनाथ, कीर्तिविहार र लुम्बिनी जान चाहन्छन् ।
“यी देशले लुम्बिनीमा आ–आफ्ना विहार निर्माण गरेका कारण पनि त्यहाँबाट आउने उच्चस्तरीय पाहुनाले सकेसम्म लुम्बिनी एकपटक पुगौं भन्ने चाहना व्यक्त गर्छन्,” परराष्ट्रका एक अधिकारीले भने ।
भारतबाट आउने उच्चस्तरीय पाहुनाको चाहना एक पटक पशुपतिनाथ पुगौं भन्ने हुन्छ ।
यसैकारण पछिल्ला वर्षहरूमा, अझ भनौँ भारतीय जनता पार्टी सत्तामा आएपछि भारतबाट आउने पाहुनालाई पशुपतिनाथ मन्दिर पुर्याउने कार्य अनिवार्य जस्तै बनेको छ ।
युरोप र अमेरिकाबाट आउने उच्चस्तरीय पाहुनाको चाहना भने अलि फरक हुने गरेको छ । उनीहरू विशेष आफ्नो देशको सहयोगमा सञ्चालित विकास परियोजना हेर्न चाहन्छन्, त्यतै लाग्छन् । युरोप र अमेरिकाबाट आउनेहरू बढी सम्पदाहरू हेर्ने इच्छा व्यक्त गर्ने गरेको स्रोतको दाबी छ । शरणार्थी शिविरहरू पनि उनीहरूको रोजाइमा पर्छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, खाडी राष्ट्रहरूबाट आउने उच्चस्तरीय पाहुनाले घुम्ने र किनमेल गर्ने खासै रुचि राख्दैनन् ।
गत वर्ष कतारका अमिर नेपाल भ्रमणमा आउँदा भने उनले बसन्तपुर दरबार क्षेत्र घुम्ने इच्छा व्यक्त गरेका थिए, तर काठमाडौं महानगरपालिकाका कारण उनको ईच्छा पूरा हुन पाएन ।
“काठमाडौं महानगरपालिकाले कतारका अमिरको गाडी जुध्द शालिकभन्दा अगाडि जान नदिने भन्यो । हामीले धेरै अनुरोध गर्दा पनि महानगरले मानेन । महानगरले सहयोग नगर्दा अमिरलाई बसन्तपुर लैजाने कार्यक्रम रद्द गर्नुपर्यो,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
पछि कतारका विदेश राज्यमन्त्री आउँदा पाटन दरबार क्षेत्र घुम्न परराष्ट्रले अनुरोध गरेको थियो । तर उनी त्यहाँ जान मानेनन् । घुम्ने ठाउँको प्रस्ताव परराष्ट्रको प्रस्ताव र सम्बन्धित उच्चस्तरीय विदेशी पाहुनाको इच्छामा भर पर्नेगर्छ ।
तर किनमेल कहाँ गर्ने भन्ने निर्णय प्रायः सम्बन्धित देशको दूतावास, राजदूत वा अवैतनिक दूतले गर्ने गर्छन् ।
“किनमेलका लागि पसल जाँदा सुरक्षा चासो जोडिन्छ, त्यसैले कमै मात्र पसल जाने गर्छन्,” परराष्ट्र मन्त्रालयका ती अधिकारीले भने, “कोही विदेश उच्चस्तरीय पाहुना भने भेष बदलेर र परिचय लुकाएर रेष्टुरेन्ट जाने गर्छन् ।”
यस्तो बेला सम्बन्धित देशको दूतावासका कर्मचारीले उनीहरूलाई साथ दिन्छन् ।