
काठमाडौं । चलचित्र ‘परिवर्तन’मार्फत नायिका करिष्मा मानन्धर पुनः अभिनयमा फर्किने भएकी छन् । विजय केरुङको निर्देशन रहने चलचित्रमा करिष्माको अभिनय रहनेछ ।
दुई वर्षअगाडि ‘बगान’मा करिष्माले अभिनय गरेकी छन् । त्यसयता उनले कुनै पनि चलचित्रमा काम गरेकी छैनन् ।
तीन दशकदेखि निर्देशन गर्दै आएका केरुङले नयाँ चलचित्र ‘परिवर्तन’ निर्देशन गर्ने भएका हसन् । ‘माझी दाइ’, ‘आमाको काख’लगायत उनले दर्जनौँ चलचित्र निर्देशन गरिसकेका छन् ।
एक इमानदार प्रहरी अफिसरको कथालाई केन्द्रीय रूपमा प्रस्तुत गरिनेछ । करिष्मासँगै यो चलचित्रमा अञ्जना बराइली र सुशील श्रेष्ठ प्रमुख भूमिकामा देखिनेछन् ।
चलचित्रमा सुनील थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।
दिब्यासी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता दीपक सिवाकोटी हुन् ।
चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन् ।
छायांकन निर्देशन शिव ढकाल, सम्पादन भूपेन्द्र अधिकारी, द्वन्द्व निर्देशन श्री श्रेष्ठको रहनेछ ।
‘परिवर्तन’को छायांकन आगामी हप्ताबाट सुरु हुनेछ । पूर्वी नेपालका विभिन्न जिल्लामा छायांकन हुने चलचित्र यही वर्ष प्रदर्शन हुनेछ ।
‘परिवर्तन’ नाममा विसं. २०२८ सालमा चलचित्र निर्माण भएको थियो । उक्त चलचित्रको निर्देशन हिरासिंह खत्रीले गरेका थिए । दश वर्षपछि एउटै नाममा चलचित्र निर्माण गर्न सकिने कानुनी प्रावधान छ ।