site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हार्वर्डले पाउने सरकारको ग्रान्ट व्यावसायिक विद्यालयलाई दिने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार हार्वर्ड विश्वविद्यालयबाट कटौती गरेको तीन अर्ब डलर व्यावसायिक विद्यालयहरूलाई दिने बताएका छन् । 

उनले सामाजिक संजालमा पोस्ट गर्दै लेखे, “मैले हार्वर्डजस्तो यहुदी–विरोधी संस्थाबाट तीन अर्ब डलरको अनुदान रकम लिएर व्यावसायिक विद्यालयहरूलाई दिने विचार गरिरहेको छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मेमोरियल डेको अवसरमा सामाजिक संजालहरूमा गरेका धेरै पोस्टहरूमध्ये यो घोषणाको पोष्ट पनि एक थियो । यसले हार्वर्डको कुनै नयाँ फण्ड कटौतीलाई नभएर पहिले नै हार्वर्ड र यसका अनुसन्धान साझेदारहरूबाट फ्रिज वा जफत गरिएको रकमलाई पुनर्वितरण गर्ने प्रस्ताव गरेको द न्युयोर्क टाइम्सले जनाएको छ ।

यो योजना कसरी कार्यान्वयन हुने भन्ने बारेमा ट्रम्पले बताएका छैनन् । 

यो पोस्टसँगै उनले हार्वर्डले विदेशी विद्यार्थीको सूची सम्बन्धी सरकारको अनुरोध मा जवाफ दिन आलटाल गरेको आरोप लगाएका छन् । ट्रम्पले भने, “हामीले यी सूचीहरू मागेका थियौँ किनभने हामी कतिजना उग्रवादी ‘पागल’हरू र उदण्डहरूलाई हाम्रो देशमा फिर्ता आउन दिनुहुँदैन भनेर निर्धारण गर्न सकौँ ।”

ट्रम्पका यी पोस्टहरूले अमेरिकाको सबैभन्दा पुरानो र धनी विश्वविद्यालय हार्वर्डमा सार्वजनिक दबाब बनाइराख्ने उद्देश्य राखेको देखिएको समाचारमा उल्लेख छ । हार्वर्ड र ह्वाइट हाउसबीच लामो संघर्ष चलिरहेको र यसको मूल कारण ट्रम्प प्रशासनले विश्वविद्यालयले यहुदी–विरोधी भावनालाई बढावा दिएको र उदारवादी विचारधारा प्रवर्धन गरेको आरोप लगाएको छ ।

हार्वर्डले राष्ट्रपतिको यो पोस्टमा कुनै प्रतिक्रिया दिएको छैन ।

विश्वविद्यालयले बोस्टनको फेडरल अदालतमा सरकारले फ्रिज वा रद्द गरेको तीन अर्ब डलरभन्दा बढीको अनुदान र फिर्ता पाउन मुद्दा लडिरहेको छ । अर्को मुद्दामा हार्वर्डले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भर्ना गर्ने आफ्नो अधिकार कायम राख्न पनि संघर्ष गरिरहेको छ । द न्युयोर्क टाइम्स
 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्