site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बिजुली उत्पादनपछि मात्र आईपीओ निष्कासन गर्न दिइने, निर्देशिका परिमार्जन गर्दै धितोपत्र बोर्ड

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) जलविद्युत कम्पनीहरूको साधारण सेयर (आईपीओ) निष्कासनमा अब झनै कडाइ गर्ने भएको छ । 

बोर्डले खुद सम्पत्ति (नेटवर्थ) ९० रुपैयाँभन्दा कम भएका जलविद्युत् कम्पनीलाई पाइपलाइनको सूचीबाट हटाएको छ । अब आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन (सीओडी) थालेपछि मात्र जलविद्युत कम्पनीलाई आईपीओ निष्कासन गर्न दिने भएको हो ।

बोर्डले मापदण्ड पूरा नगरेको भन्दै भर्खरै आधा दर्जन जलविद्युत कम्पनीलाई पाइपलाइनबाट हटाएको छ ।   बोर्डले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरी उत्पादन सुरु भएपछि मात्र आईपीओको निवेदन लिने भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जलविद्युत कम्पनीहरूले आयोजना निर्माण गर्दागर्दै लगानी जुटाउन आईपीओ निष्कासन गर्दै आएकामा अब उत्पादनमा गएका आयोजनाका कम्पनीले मात्र सेयर निष्कासन गर्न पाउने भएपछि जलविद्युत प्रवद्र्धकलाई समस्या हुने देखिएको छ ।

बोर्डले तत्कालै धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर व्यवसायिक विद्युत उत्पादनपछि मात्र आईपीओ निष्कासन स्वीकृतिको निवेदन लिने व्यवस्था गर्न लागेको सेबोन उच्च स्रोतले बाह्रखरीलाई बतायो ।

नियमावली चाँडै संशोधन गरेर कार्यान्वयनमा ल्याउने तयारी भइरहेको स्रोतले बतायो । सेबोन स्रोतका अनुसार, निर्देशिका परिमार्जन भएपछि हाल पाइपलाइनमा रहेकाहरूमध्ये ३० कम्पनी आईपीओ निष्कासन गर्न स्वतः अयोग्य हुनेछन् ।  

पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठन भएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावलाई सरकारले स्वामित्व लिएकाले अब सोहीअनुसार जलविद्युत कम्पनीहरूको आईपीओ निष्कासन स्वीकृति दिने व्यवस्था हुने स्रोतले स्पष्ट पारेको छ । 

“पहिलाको जस्तो आयोजना नबनाई वा बनाउँदै गरेको बेला आईपीओ निष्कासन गर्न दिने छैनौं । बोर्डले कम्पनीका प्रवद्र्धकहरूभन्दा कम्पनीमा लगानी गर्ने लगानीकर्ताको हित हेर्ने छ,”  सेबोन स्रोतले भन्यो ।  

खनाल आयोगले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको सुझावको १४२ नम्बर बुँदामा जलविद्युत कम्पनीलाई बिजुली उत्पादन सुरु गरेपछि मात्र प्राथमिक सेयर निष्कासन व्यवस्था गर्न सुझाव दिएको छ । यही जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले खनाल आयोगको सुझाव कार्यान्वयनका लागि तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ लाई स्वीकृत गरिसकेको छ । सरकारले आयोगको सुझावलाई अपनत्व लिइसकेपछि कार्यान्वयन गर्ने दायित्व बोर्डको भएको स्रोतको दाबी छ । 

सरकारको उक्त निर्णयको स्वतन्त्र ऊर्जा उत्पादकहरूले विरोध जनाएका छन् । उनीहरूले सरकारले लिएको साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यमा धक्का लाग्ने स्पष्ट पारेका छन् । निजी क्षेत्रबाट ठूलो लगानी भइरहेको अवस्थामा नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि निजी लगानी निरुत्साहित हुने जलविद्युत उद्यमीको भनाई छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का सचिव तथा जलविद्युत उद्यमी प्रकाश दुलालले यो समस्या धितोपत्र बोर्डको नभई सरकारका कारणले समस्या आउन लागेको बताउँछन् । 

खनाल आयोगले दिएको सुझावले जलविद्युत उद्यमी समस्यामा परेको उनको भनाई छ । बिजुली उत्पादन थालेपछि आईपीओ निष्कासन गर्नुको कुनै अर्थ नहुने र ऋण तिर्न मात्र हुने सचिव दुलालको भनाई छ । 

सचिव दुलालले कुरा गर्दै भने ‘‘आयोजना निर्माणका क्रममा आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर बाँडफाँड भएपछि सहज हुने गरेको छ । सेयर ढिलो भएपछि आयोजनामा स्थानीय अवरोध बढ्ने छ भने समयमै आयोजना पूरा गर्न अब गाह्रो हुने छ ।”

सरकारले एक दशकमा साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्न ६५ खर्ब रुपैयाँ लगानी जुटाउनुपर्ने छ । पुँजी जुटाउन यसले अवरोध सिर्जना गर्ने उत्पादकको भनाई छ ।

सरकार आफैँले निर्धारण गरेको लक्ष्य पूरा गर्न आवश्यक वित्त परिचालनको कार्ययोजना बनाउनुपर्नेमा उल्टो बाटोमा गएको  तर्क सचिव दुलालको छ । यसको असर के हुन्छ भन्ने अध्ययन नगरी सिँधै खनाल आयोगले गरेको सिफारिस कार्यान्वयन गरेको दुलालले गुनासो गरेका छन् । 

सरकारले जलविद्युत कम्पनीलाई अनिवार्य रुपमा आयोजना प्रभावित स्थानीयलाई सेयर निष्कासन गर्नुपर्ने वाध्यकारी व्यवस्था गरेको छ । त्यही व्यवस्थाअनुसार जलविद्युत कम्पनीहरूले आयोजना निर्माण सुरु भएपछि आयोजना प्रभावित स्थानीयलाई न्यूनतम् १० प्रतिशत सेयर निष्कासन गर्दै आएका छन् ।

त्यसपछि २० प्रतिशतसम्म सर्वसाधारणलाई सेयर निष्कासन गर्दै आएका छन् । सरकारले खनाल आयोगले दिएको सुझाव प्रतिवेदन हुबहु  कार्यान्वयन गरेमा आयोजनाबाट बिजुली उत्पादन भएपछि मात्र आईपीओ निष्कासन गर्न पाउने भएका छन् । आयोजना बनाउन सबै ऋणको परिचालन गरेपछि ब्याज खर्च थपिन गई आयोजनाको दायित्वसमेत बढ्ने देखिएको छ ।

जलविद्युत आयोजना ठूलो लगानी (क्यापिटल इन्टेन्सिभ) हुने भएकाले संस्थापकले मात्र स्वपुँजी (इक्विटी) जुटाउन कठिन हुने देखिएको छ । यता सेबोनले न्यूनतम सेयर निष्कासन सीमा बढाउन तयारी गरेको छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले २०८० पुस १२ गते ९० रुपैयाँभन्दा कम प्रतिसेयर नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन अनुमति नदिनु भनेपछि यही आदेशलाई सिरोपर गरेको बोर्डको भनाई छ । सार्वजनिक लेखा समितिकै निर्देशन देखाएर बोर्डले आईपीओ निष्कासन अनुमति दिएको छैन । 

समितिको त्यो निर्णयसँगै आईपीओ जारीमा कडाई भएको छ । घाटामा गएका कम्पनीको पुनः मूल्यांकन गर्न, ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन गर्न रोक र जलविद्युतका संस्थापक सेयरधनीको एकतिहाई सेयर आयोजना निर्माणका लागि लिएको ऋण चुक्ता नहुन्जेलसम्म ‘लकइन’ अवधि कायम रहने गरी व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको छ ।

बोर्डले ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका १४ वटा कम्पनीलाई नै आईपीओ आवेदनको सूचीबाट बोर्डले हटाएको छ । तर, यही सूचीमा प्रतिसेयर नेटवर्थ ९० भन्दा कम भएका कम्पनी अझै छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्