
काठमाडौं । दक्षिणपूर्वी एसिया भ्रमणका क्रममा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन आइतबार भियतनाम पुगे । भियतनाम भ्रमणको बेलाको एउटा भिडियो फ्रान्सेली सञ्चारमाध्ययममा भाइरल भएको थियो ।
भिडियोमा भियतनामको एयरपोर्टमा पुगेर राष्ट्रपति विमानको ढोकामा उभिएको देखिन्छ । जहाँ रातो ब्लेजर लगाएकी एक महिलाले दुई हातले राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई धकेल्दै गरेको देखिन्छ ।
जब यो दृश्य क्यामेरामा कैद भएको राष्ट्रपतिले चाल पाए तब म्याक्रोनले तत्काल प्रतिक्रिया जनाए, मुन्टो फर्काए अनि मुस्कुराएर प्रेसलाई हात हल्लाए ।
यो दृश्य फ्रान्सेली सञ्चारमाध्ययममा भाइरल भएको थियो । राष्ट्रपति म्याक्रोनलाई धकेल्ने महिला अरू कोही नभएर उनकै पत्नी ब्रिजिट भएको पछिमात्रै पहिचान भएको थियो ।
ब्रिजिटले विमानबाट उत्रँदा पतिको हात समातिनन् । यसले उनीहरूको झगडा भएको हो कि भन्ने बहस जन्माएको थियो । दैनिक पत्रिका पारिसियनले ‘थप्पड वा झगडा ?’ भन्ने शीर्षक राखेर यो समाचार बनाएको थियो ।
तर, राष्ट्रपति म्याक्रोनको कार्यालयले उनकी पत्नी ब्रिजिट म्याक्रोनले भियतनाममा विमानबाट उत्रिनुअघि उनको अनुहारमा धक्का दिएको देखिने भिडियो प्रसारित भएपछि उत्पन्न मतभेदको अफवाहको खण्डन गरेको छ ।
सोमबार पत्रकारहरूलाई सम्बोधन गर्दै म्याक्रोनले आफ्नी पत्नीसँग ठट्टा गरेको बताए र यस विषयमा सबैलाई शान्त हुन आग्रह गरे ।
उनको कार्यालयले पनि यस्तै प्रतिक्रिया दिँदै यो दम्पतीबीचको नजिकपनाको एक क्षण भएको बताएको छ ।
एसोसिएटेड प्रेस (एपी)का अनुसार, उनको कार्यालयले भनेको थियो, “यो यात्रा सुरु हुनुअघि राष्ट्रपति र उनकी पत्नीले आफूलाई हल्का पार्न गरेको एक क्षण हो । यो उनीहरूबीचको सहज सम्बन्धको प्रतीक हो । तर यो क्षणले ‘कन्स्पिरेसी थ्यौरी’का समर्थकहरूलाई अफवाह फैलाउने मौका दिएको छ ।”
फ्रान्सेली राष्ट्रपतिले यो घटनालाई गलत अनलाइन व्याख्याको उदाहरणका भनेका छन् । योसँगै उनले यसै महिनाको सुरुमा फैलाइएको अर्को अफवाहलाई सम्झिएका थिए ।
उनले युक्रेनमा ट्रेन यात्राका क्रममा उठाएको टिस्यु पेपरको डल्लोलाई कोकिनको ब्याग भन्ने गलत दाबी गरिएको थियो ।