site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एक भारतीय चलचित्र जसको लागि फ्रान्सको कान फिल्म महोत्सवमा नौ मिनेटसम्म ताली बज्यो

काठमाडौं । भारतीय चलचित्र निर्देशक नीरज घेवानाले सन् २०१० मा ‘मसान’ चलचित्रको साथ कान फिल्म महोत्सवमा पहिलोपटक प्रवेश गरेका थिए । बनारसको कथामा आधारित यो चलचित्र प्रेम, दुःख र जातीय व्यवस्थाको चंगुलमा फसेको जीवनको कथा हो ।

यो चलचित्रमा मुख्य भूमिकामा अभिनेता विक्की कौशल थिए । उनले यसमा एक यस्तो व्यक्तिको भूमिका निभाएका थिए, जो जातीय व्यवस्थामा तथाकथित तल्लो जातिको प्रतिनिधित्व गर्छन् । उनको परिवार गंगा किनारमा शवदाह गर्ने काम गर्छ ।

‘मसान’ लाई कान फिल्म महोत्सवको ‘अन सर्टन रिगार्ड’ श्रेणीमा प्रदर्शन गरिएको थियो । यो श्रेणीमा विभिन्न र नयाँ प्रकारका कथाहरू बताउने चलचित्रहरू समावेश गरिन्छ । यो चलचित्रले ‘प्रोमिसिङ फ्युचर पुरस्कार’ जितेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पाँच वर्षअघि कोभिड महामारीको समयमा घेवानाका साथी सोमेन मिश्राले उनलाई न्युयोर्क टाइम्समा प्रकाशित ‘टेकिङ अमृत होम’ शीर्षकको एक लेख पढ्न सल्लाह दिएका थिए । यो लेख पत्रकार बशरत पिरद्वारा लिखिएको थियो । सोमेन मिश्रा मुम्बईस्थित धर्मा प्रोडक्सनकी क्रिएटिभ डेभलपमेन्ट प्रमुख हुन् ।

यस लेखमा लकडाउनको समयमा लाखौँ व्यक्तिहरू, जसको साथमा कुनै साधन थिएन, सयौँ–हजारौँ किलोमिटर पैदल हिँडेर आफ्नो गाउँ फर्कने कथा वर्णन गरिएको थियो । तर, नीरजलाई यस लेखको सबैभन्दा खास कुरा यसमा देखाइएको एक मुस्लिम र दलित युवाको बाल्यकालको मित्रता लाग्यो । यही लेख उनको नयाँ चलचित्र ‘होमबाउन्ड’को प्रेरणा बन्यो । यो चलचित्र यस हप्ता कान फिल्म महोत्सवको ‘अन सर्टन रिगार्ड’ खण्डमा प्रदर्शन भयो र यसको प्रिमियरपछि दर्शकहरूले नौ मिनेटसम्म उभिएर ताली बजाए ।

चलचित्र हेरेपछि दर्शकहरूका आँखामा आँसु थिए । नीरज घेवानाले चलचित्रका मुख्य निर्माता करण जोहरलाई अँगालो हाले । उपस्थित चलचित्रका कलाकार ईशान खट्टर, विशाल जेठवा र जाह्नवी कपूरले पनि उनीहरूलाई अँगालो हाले ।

कान फिल्म महोत्सव २०२५ मा यो सबैभन्दा ठूलो दक्षिण एसियालाई आयोजना थियो, यसैले धेरै प्रसिद्ध चलचित्र व्यक्तित्वहरू पनि यो चलचित्र हेर्न आएका थिए । यो चलचित्रले कसैले आशा नगरेको समर्थन पाएकोे थियो ।

यसका मुख्य निर्माता करण जोहर हुन् जो भारतका प्रमुख चलचित्र निर्माताहरूमध्ये एक हुन् र ‘कभी खुसी कभी गम’ र ‘रकी और रानी की प्रेम कहानी’ जस्ता धेरै हिट चलचित्रहरू बनाइसकेका छन् ।

तर, गत महिना प्रख्यात हलिउड निर्देशक मार्टिन स्कोर्सेसे यस चलचित्रसँग एग्जिक्युटिभ प्रोड्युसरको रूपमा जोडिए । उनलाई यस चलचित्रको बारेमा ‘होमबाउन्ड’की फ्रेन्च निर्माता मेलिटा टोस्कान डु प्लान्टियरले बताएकी थिइन् ।

स्कोर्सेसेले कुनै समकालीन भारतीय चलचित्र परियोजनालाई समर्थन गरेका यो पहिलोपटक थियो । हालसम्म उनी पुराना भारतीय चलचित्रहरू पुनर्स्थापना गर्नमा मात्र सहयोग गर्दै आएका थिए ।

गत महिना स्कोर्सेसेले भनेका थिए, “मैले नीरजको पहिलो चलचित्र ‘मसान’ २०१५ मा हेरेको थिएँ र मलाई यो धेरै मनपर्‍यो । जब मेलिटा टोस्कान डु प्लान्टियरले उनको नयाँ चलचित्रको परियोजना पठाउनुभयो, म धेरै उत्साहित भएँ ।”

“मलाई यसको कथा धेरै मन पर्‍यो । म यस काममा सहयोग गर्न चाहन्थे । नीरजले एक सुन्दर चलचित्र बनाएका छन्, जो भारतीय सिनेमाको लागि धेरै महत्त्वपूर्ण छ,” उनले भने । 

नीरज घेवानले स्कोर्सेसेले उनको चलचित्र निर्माणमा सहयोग गरेको बताए । । उनले धेरै पटक चलचित्रको सम्पादन प्रक्रियामा टिमलाई मार्गदर्शन र सल्लाह दिए । सकोर्सेसेले चलचित्रको कथा र यसको सामाजिक सन्दर्भलाई बुझ्ने प्रयास पनि गरे ।

नीरज घेवानको लागि यो चलचित्रमा उठाइएको मुद्दाको भावना र सच्चाइलाई सही ढंगमा देखाइनु धेरै आवश्यक थियो ।

चलचित्रका दुई मुख्य पात्र मोहम्मद शोएब अली (ईशान खट्टर) र चन्दन कुमार (विशाल जेठवा) दुवै यस्ता पृष्ठभूमिबाट आएका छन्, जो सयौँ वर्षदेखि समाजका तथाकथित उच्च जातिहरूद्वारा भेदभावको सामना गर्दै आएका छन् ।

तर, दुवैको सपना यी सामाजिक बाधाहरू पार गर्ने हो । चलचित्रमा उनीहरू दुवै आफ्नो राज्यको प्रहरी बलमा भर्ना भएर नयाँ पहिचान बनाउने प्रयास गर्छन् ।

उनी आफैँ एक दलित परिवारबाट हुन् । यो पहिचान उनको जीवनको एक महत्त्वपूर्ण अंश रहेको छ र बचपनदेखि नै उनलाई प्रभावित गर्दै आएको पनि बताए ।

ठूलो हुँदै उनले बिजनेस एडमिनिस्ट्रेसनको अध्ययन गरे र त्यसपछि दिल्ली नजिकैको गुरुग्राममा एक कर्पोरेट कम्पनीमा नोकरी गरे ।

उनलाई कहिले प्रत्यक्ष रूपमा भेदभावको सामना गर्नुपरेको नभए पनि समाजमा उनको स्थिति कहाँ छ भन्ने भावना सधैँ नै रहेको उनले बताए । आज पनि उनी आफ्नो जन्मसँगै जोडिएको यस पहिचानको बोझ महसुस गर्छन् ।

उनले भने, “म पूरै हिन्दी फिल्म इन्डस्ट्रीको इतिहासमा एकमात्र व्यक्ति हुँ जो दलित समुदायबाट आएको छु र जो क्यामेरापछि पनि छु र अगाडि पनि । यही हो असली अन्तर जसमा हामी सबै बाँचिरहेका छौँ ।”

नीरज घेवानले भारतको धेरै जनसंख्या गाउँमा बस्छ, तर हिन्दी चलचित्रहरूमा गाउँका कथाहरू धेरै कम देखिने बताउँछन् ।

उनलाई पछाडि पारिएका समुदायहरूको बारेमा केवल तथ्यांकको रूपमा मात्र कुरा गर्दा पीडा दिने बताए । उनले भने, “हामी ती तथ्यांकहरूमध्येबाट एउटा मानिसको कथा मात्र जान्न सक्छौँ जसमा उनको जीवनमा के भयो, उनी यहाँसम कसरी पुगे अनि मात्र सायद हामीले धेरै कुरा बुझ्न सक्छौँ । त्यसपछि मलाई लाग्यो यो कथा देखाउन योग्य छ ।”

जब नीरज घेवानले चलचित्रको पटकथा लेख्न सुरु गरे, तब उनले कोभिडभन्दा पहिले ती दुई पात्रहरूको जीवनबारे कल्पना गर्न थाले ।

नीरज घेवानको बाल्यकाल हैदराबादमा बितेको थियो र उनका साथी असगर मुस्लिम समुदायबाट थिए । त्यसैले उनलाई अली र कुमारको अनुभवहरूसँग गहिरो सम्बन्ध महसुस भयो । उनी भन्छन्, “मलाई जुन कुरा सबैभन्दा बढी छोयो, त्यो थियो यो सम्बन्धको पछाडि रहेको मानवता, आपसी सम्बन्धहरूको गहिराइ र त्यो सम्बन्धको भित्री तहहरू ।”

यसले उनलाई उनकै बाल्यकालको सम्झनामा फर्काइदिन्छ । घेवानको निर्देशनमा बनेको चलचित्र ‘होमबाउंड’मा जाडोको घामजस्तै कोमलता छ ।

यो चलचित्र उत्तर भारतको ग्रामीण भेगमा निकै सुन्दर ढंगले छायांकन गरिएको छ । यसमा मुस्लिम र दलित पात्रहरूको दैनिक संघर्ष र साना–साना खुसीहरूलाई सूक्ष्म रूपमा प्रस्तुत गरिएको छ ।

दुवै पुरुष पात्रहरूका साथै जान्हवी कपूरले अभिनय गरेकी एक महिला पात्रसँगको सम्बन्ध, संवाद र अनुभवहरूले दर्शकलाई सोच्न बाध्य बनाउँछ । जान्हवी कपूर र विशाल जेठवाले दुवै दलित पात्रहरूको भूमिका निर्वाह गरेका छन् । धेरैजसो समय घेवानको स्क्रिप्टले दर्शकलाई बाँधिराख्न सफल हुन्छ ।

कोभिड महामारी कति विशाल हुनसक्छ भन्ने कुरा सन् २०१९ मा कसैले पनि अनुमान गर्न सकेको थिएन । तर, यो चलचित्रले निकै संवेदनशील ढंगले कसरी कुनै पनि संकटले जात, वर्ग वा धर्म हेर्दैन र सबैलाई असर गर्छ भन्ने कुरा सुक्ष्म रूपले देखाउँछ  ।

‘होमबाउंड’ एक यस्तो कथा र यथार्थको सम्मिश्रण हो, जुन समाजको साँचो चित्र देखाउने एक महत्त्वपूर्ण दस्तावेज बन्छ । यो चलचित्र केवल भावुक मात्र बनाउँदैन, सोच्न पनि बाध्य बनाउँछ, र आशा गरौँ यसले समाजको डिलमा रहेका मानिसहरूप्रति नयाँ बुझाइ जन्माउनेछ । बीबीसी

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्