site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिका र युरोपले युक्रेनको मिसाइलमा ‘रेन्ज’ प्रतिबन्ध हटाए, यसले के फरक पार्छ ?
तस्बिर : रोयटर्स ।

काठमाडौं । जर्मनीका नवनिर्वाचित चान्सलर फ्रिड्रिच मर्जले युक्रेनलाई पश्चिमा मुलुकले दिने हतियारमा राखिएको दूरीसम्बन्धी प्रतिबन्ध हटाइएको घोषणा गरेका छन् । सोमबार बर्लिनमा आयोजित एक कार्यक्रममा मर्जले भने, “संयुक्त अधिराज्य (यूके), फ्रान्स, जर्मनी र अमेरिकाले दिएका हतियारमा अब दूरीसम्बन्धी कुनै प्रतिबन्ध छैन ।”

रुसका प्रवक्ता दिमित्री पेस्कोवले यस्तो निर्णयले युक्रेनसँगको भविष्यको शान्ति प्रक्रियालाई पूर्ण रूपमा बाधा पुर्‍याउने प्रतिक्रिया दिएका छन् । रुसले युक्रेनमा गरिरहेको हालैको हमला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘पागल’ भनेर आलोचना गरेका बेला यस्तो घोषणा गरिएको हो ।

जर्मन चान्सलर मर्जले सार्वजनिक प्रसारक डब्ल्यूडीआरले आयोजना गरेको फोरममा भने, “युक्रेनलाई दिइएका हतियारमा अब कुनै दूरीसम्बन्धी प्रतिबन्ध छैन, न त ब्रिटिसको न फ्रान्सेलीको । न हाम्रो न त अमेरिकीको ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अगाडि भने, “यसको मतलब युक्रेनले अब रुसभित्रका सैन्य स्थानमा पनि आक्रमण गरेर आत्मरक्षा गर्न सक्छ । केही समयअघिसम्म यस्तो गर्न पाउँदैनथ्यो । अब पाउँछ ।”

तर, मर्जले सन् २०२४ नोभेम्बरमा अमेरिकाले युक्रेनलाई रुसी भूमिभित्र लामो दूरीका मिसाइल प्रयोग गर्न दिएको निर्णयलाई नै उल्लेख गरेका हुन् कि नयाँ नीति अपनाइएको भन्ने स्पष्ट छैन ।

रुसले कस्तो प्रतिक्रिया दिएको छ ?
रुसका प्रवक्ता पेस्कोवले यस्तो निर्णय खतरनाक हुने बताए । उनले भने, “यस्तो निर्णय साँच्चै गरिएको छ भने यो हामीले खोजिरहेको राजनीतिक समाधानको विपरीत हुनेछ ।”

गएको सेप्टेम्बरमा राष्ट्रपति पुटिनले पश्चिमा मुलुकले युक्रेनलाई रुसभित्र लामो दूरीका हतियार प्रयोग गर्न दिए त्यसले नाटो आफ्नो मुलुकसँग युद्धमा छ भन्ने अर्थ लाग्ने चेतावनी दिएका थिए ।

यसले युद्धको स्वरूप कसरी बदल्छ ?
अब युक्रेनले रुसभित्र सैन्य लक्ष्यमाथि प्रहार गर्न सक्नेछ । रुसले आफ्नो रणनीति बदल्न बाध्य हुनेछ, जसले युद्धको गतिशीलता बदल्न सक्छ । तर, पश्चिमा मुलुक अझै सतर्क छन् । किनभने, यसले युद्ध युक्रेनबाट बाहिर फैलिन सक्छ ।

जर्मनीले टौरस क्रुज मिसाइल दिने हो ?
अमेरिकापछि युक्रेनलाई दोस्रो ठूलो सैनिक सहयोग गर्ने देश जर्मनीले लामो समयदेखि टौरस क्रुज मिसाइल दिन अस्वीकार गर्दै आएको थियो । मर्जले यो वितरण गर्नुपर्ने भन्दै आए पनि पूर्वचान्सलर ओलाफ सोल्जले मानेका थिएनन् ।

यो मिसाइलले ५०० किलोमिटरसम्म हानि गर्न सक्छ । र, गहिरो सुरक्षित लक्ष्य नष्ट गर्न सक्षम छ । जर्मनीले यो मिसाइल दिए युक्रेनले प्रयोग गर्ने पश्चिमा क्षेप्यास्त्रमध्ये सबैभन्दा शक्तिशाली हुनेछ । तर, मर्जले आफ्नो घोषणामा जर्मनीले टौरस मिसाइल युक्रेनलाई दिने/नदिने भन्ने स्पष्ट गरेका छैनन् ।

मर्जको टिप्पणीले युद्धलाई कसरी स्वरूप दिनेछ ?
चाथम हाउसको रसिया र युरेसिया कार्यक्रमका सहयोगी फेलो टिमोथी एशका अनुसार, मर्जको घोषणा रुसले छिटोछिटो कदम नचालेको प्रतिक्रिया हो । उनले अलजजिरासित भने, “युरोपेलीले आशा गरेका छन् कि यसले रुसलाई वार्तालाई गम्भीरतापूर्वक लिन दबाब सिर्जना गर्नेछ ।”

यो कदमले जर्मन चान्सलरको दृष्टिकोणमा ठूलो परिवर्तन ल्याएको उनले बताए । उनले भने, “उनी (मर्ज) सोल्जभन्दा रुसप्रति धेरै आक्रामक छन् ।”

उनले थपे, “शान्ति प्रक्रियामा दुवै पक्ष अझै टाढा छन् । दुवै लामो युद्धका निम्ति तयार छन् । यसले युक्रेनका पक्षमा अलिकति झुकाव ल्याउनेछ ।”

युक्रेनको वायुसेनाले आइतबार रातिको हमलालाई तीनवर्षे युद्धकै सबैभन्दा ठूलो हवाई आक्रमण भनेको छ । त्यस दिन रुसले २९८ ड्रोन र ६९ मिसाइल प्रयोग गरेको थियो । उक्त आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् ।

ट्रम्पले रुसी हमलाप्रति कस्तो प्रतिक्रिया दिए ?
अमेरिकी राष्ट्रपति ट्रम्प पुटिनप्रति बढ्दो रूपमा निराश देखिएका छन् । किनभने, उनको प्रशासनले युद्ध अन्त्य गर्न गरेका प्रयासले हालसम्म कुनै परिणाम दिएको छैन । गएको हप्ता पुटिनसँग दुई घण्टा कुरा गरेपछि पनि उनले युक्रेनमा युद्धविराम कायम गर्न सकेनन् ।

आइतबार ट्रम्पले पत्रकारसित भने, “म पुटिनले गरिरहेको कामबाट खुसी छैन । उनले धेरै मानिस मारिरहेका छन् । मलाई थाहा छैन, पुटिनलाई के भएको हो ।”

उनले अगाडि भने, “म पुटिनलाई लामो समयदेखि चिन्छु । सधैँ उनीसँग राम्रो सम्बन्ध थियो । तर, उनले सहरहरूमा रकेट हान्न थालेका छन् र मानिस मारिरहेका छन्, मलाई यो मन पर्दैन ।”

उनले मस्कोमाथि थप प्रतिबन्ध लगाउने विचार गरिरहेको पनि बताए ।

ट्रम्पले आफ्नो राष्ट्रपति निर्वाचन अभियानक्रममा युद्ध छिटो अन्त्य गराउने वाचा गरेका थिए । सत्तामा फर्किएको पाँच महिनापछि पनि उनले दुवै पक्षलाई युद्धविराममा सहमत गराउन सकेका छैनन् ।

युक्रेनले बिनासर्त युद्धविराम चाहेको छ । पुटिनले भने संकटको मूल कारण सम्बोधन गर्नुपर्ने भनेका छन् । मस्कोले युक्रेनलाई नाटोमा प्रवेश नदिइयोस् र रुसी सेनाले आंशिक रूपमा कब्जा गरेका युक्रेनी क्षेत्रबाट उसका सैनिक फिर्ता लैजानुपर्ने चाहेको छ । युक्रेनले यी माग अस्वीकार गरिसकेको छ ।

ट्रम्पले युक्रेनलाई अर्बौं डलरको हतियार आपूर्ति गरेकामा आफ्ना पूर्ववर्ती जो बाइडनको आलोचना गरेका थिए । उनले नाटो सहयोगीलाई युक्रेनलाई सुरक्षा आश्वासन दिन आग्रह गरेका छन् । युरोपेली संघले आफ्नो रक्षा बजेट बढाएको छ । र, युक्रेनका निम्ति शान्ति योजना बनाउन इच्छुक राष्ट्रहरूको गठबन्धन बनाएको छ । अलजजिराबाट ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  २२:२८
प्रतिक्रिया दिनुहोस्