
काठमाडौं । आधा घण्टाका लागि स्थगन भएको प्रतिनिधिसभाको बैठक सुरु भएको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगन भएको थियो ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेमात्रै बसेको थियो । विपक्षीले होहल्ला गरिएपछि बैठक स्थगन गरिएको थियो ।
उता, राष्ट्रियसभा बैठक भने बिनाअवरोध जारी छ । बैठकको आकस्मिक समयमा नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर अछामीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । उनले जनतामा राजनीतिक पार्टी, व्यवस्थाप्रति पैदा भएको वितृष्णाको अन्त्यका लागि पनि राजीनामा दिनुपर्ने बताए ।
उनले प्रतिनिधिसभाजस्तो स्थितिमा आफूहरू जान नचाहेको बताए । “प्रतिनिधिसभा बन्दजस्तै स्थितिमा छ । हामी त्यो स्थिति पैदा गर्न चाहँदैनौँ । यो राष्ट्रियसभा छुट्टै खालको सभा हो,” उनले भने, “यो जिम्मेवार, बौद्धिकहरूको सभा, प्रबुद्धसभा भएकाले हामी त्यहाँसम्म जान चाहँदैनौँ । आवश्यकता परे जाऔँला ।”
त्यसपछि राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले सम्बन्धित निकायले समयमै ध्यान दिन आग्रह गरे । “माननीय सदस्यले सभामा उठाउनुभएको विषयमा गम्भीर ध्यानकर्षण भएको छ । समस्या समाधानका लागि सम्बन्धित निकायले समयमै गम्भीर ध्यान देओस्,” उनले भने ।