site stats
बाह्रखरी :: Baahrakhari
देश
यसवर्ष मनसुनजन्य विपद्को जोखिम बढी, सामना गर्न सरकारको कस्तो छ तयारी ?
फाइल तस्बिर

काठमाडौं । नेपालको मौसम इतिहासमा यो वर्ष सबैभन्दा छिटो मनसुन भित्रिएको छ । जेठ १५ गते राति पूर्वबाट नेपालमा मनसुन प्रवेश गरेको हो । यो विस्तारै पश्चिमतिर बढ्दै छ । केही दिनभित्रै देशभर मनसुन फैलिने छ । 

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, नेपालको सन्दर्भमा दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाको वायु प्रणालीको रूपमा रहेको मनसुन हिन्द महासागरमा उत्पन्न भई बङ्गालको खाडी हुँदै जेठको अन्त्यबाट देशमा भित्रिने गर्छ ।

प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ मा भनिएको छ, “तत्पश्चात् एक हप्ताको समयावधिमा देशभर फैलिएर चार महिना सक्रिय रही असोजको अन्त्यसँगै बाहिरिने यसको प्रक्रिया हुन्छ ।’’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सामान्यतया करिब ११० दिन जति मनसुन सक्रिय रहन्छ । पछिल्ला वर्षहरूमा नेपालमा १०–१५ दिन ढिलो गरी मनसुन बाहिरिने गरेको छ । पूर्वबाट प्रवेश गरेको एक हप्तामा फैलिनुपर्नेमा कुनै वर्ष २–३ दिनमा नै देशभर फैलिने र कुनै वर्ष देशभर फैलिन धेरै दिन लाग्ने गरेको छ ।

नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा मनसुनको अवधिमा हुने प्राधिकरणको भनाई छ । मनसुनको सुरुवातसँगै बाढी, पहिरो, डुबान, जमिन कटान जस्ता विपद्का घटना घट्ने गर्छन् ।

वर्षा र तापक्रमको पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरेको छ । विभागका अनुसार, कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा अधिक वर्षा रहने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ ।

सुदूरपश्चिमको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तरी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा अधिक वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत छ ।

मधेशको पूर्वी तथा दक्षिणी भू–भागमा सरदर वर्षा ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म सम्भावना रहेको विभागले जनाएको छ । देशका अन्य भू–भागमा समेत यो वर्षको मनसुन अवधिमा अधिक वर्षाको सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म रहेको पूर्वानुमान विभागले गरेको छ ।

मनसुन अवधिमा दैनिक तापक्रमको सम्बन्धमा सुदूरपश्चिमको उत्तरपूर्वी भू–भाग, कर्णाली प्रदेशको उत्तरी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग, गण्डकी प्रदेशको पश्चिमी भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग र बागमती प्रदेशको मध्य भू–भागमा सरदरभन्दा अधिक रहने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत छ ।

त्यस्तै मधेश प्रदेशको पूर्वी भू–भाग र गण्डकी प्रदेशको मध्य भू–भागमा सरदरभन्दा अधिक तापक्रमको सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत छ । देशका अन्य भू–भागमा अधिक तापक्रमको सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहने पूर्वानुमान विभागको छ ।

मनसुनजन्य विपद् जोखिमको आकलन

यस वर्षको मनसुन अवधिमा देशैभर सरदरभन्दा अधिक वर्षा रहने सम्भावना विगतको तुलनामा अत्यधिक छ । यसकारण बाढी, पहिरो, डुबान, चट्याङ, जमिनी कटान, भारी वर्षा तथा आकस्मिक बाढी जस्ता मनसुनजन्य विपद्को जोखिम अत्यधिक हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । 

“समग्रमा यो वर्ष मनसुन अवधिमा मनसनुजन्य विपद्बाट देशभर करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित बन्ने आँकलन गरिएको छ,” मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ उल्लेख गरिएको छ । 

कार्ययोजना अनुसार, यस वर्षको मनसुन अवधिमा मनसुनजन्य विपद्का घटनाबाट कोशी प्रदेशमा ६३ हजार १२७ परिवारका २ लाख ७५ हजार ८६७ जना प्रभावित हुने अनुमान गरिएको छ । मधेश प्रदेशमा ५२ हजार ३३१ परिवारका २ लाख २८ हजार ६८७ जना प्रभावित हुने अनुमान प्राधिकरणको छ । 

बाग्मती प्रदेशमा ७४ हजार ९१४ परिवारका ३ लाख २७ हजार ३७६ जना प्रभावित हुने पूर्वानुमान छ । गण्डकी प्रदेशमा ६५ हजार ६१९ परिवारका २ लाख ८७ हजार १०७ जना मनसुनजन्य विपद्बाट प्रभावित हुने आकलन गरिएको छ । 

यस्तै, यसवर्ष मनसुनजन्य विपद्का घटनाबाट लुम्बिनी प्रदेशमा १ लाख १९ हजार ८३० परिवारका ५ लाख २३ हजार ६५६ जना, कर्णाली प्रदेशमा २९ हजार १३२ परिवारका १ लाख २७ हजार ३०८ जना र सुदूरपश्चिम प्रदेशका ५२ हजार ११२ परिवारका २ लाख २७ हजार ७३० जना प्रभावित हुने अनुमान गरिएको छ । 

कुन जिल्ला बढी प्रभावित हुने सम्भावना छ ? 

प्राधिकरणको पूर्वानुमानअनुसार यो वर्षको मनसुनमा अधिक वर्षा र गर्र्मी हुने सम्भावना रहेका कारण धेरै जिल्लाहरू प्रभावित हुने सम्भावना छ । 

यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट कपिलवस्तु, बर्दिया, दाङ, बाँके, नवलपरासी, सुनसरी, सर्लाही, सिराहा, रौतहट, चितवन, दोलखा, सिन्धुपाल्चोक, तनहुँ, नवलपुर, स्याङ्जा, प्यूठान र रुपन्देही सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । 

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा गरिएको आकलन अनुसार कोशी प्रदेशको सुनसरीका ७४ हजार जना, झापामा ३९ हजार जना र भोजपुरका २७ हजार ३५६ जना यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट प्रभावित हुने सम्भावना छ । 

मनसुनजन्य विपद्का घटनाबाट यो वर्ष मशेश प्रदेशको सर्लाहीमा ५३ हजार ६२४ जना, सिराहामा ५२ हजार ३४० जना, रौतहटमा ५१ हजार १०१ जना र महोत्तरीमा २२ हजार ५३२ जना प्रभावित हुने पूर्वानुमान छ ।

वागमती प्रदेशको चितवनमा ५८ हजार ६६४ जना, दोलखामा ४७ हजार ५८१ जना, सिन्धुपाल्चोकमा ४२ हजार २०८ जना, काठमाडौंमा ३७ हजार ४८० जना, रामेछापमा २८ हजार ४६१ जना र धादिङमा २५ हजार ५३६ जना मनसुनजन्य विपद्बाट प्रभावित हुने प्राधिकरणको आकलन छ । 

यस्तै, गण्डकी प्रदेशको तनहुँमा ६६ हजार ३५० जना, नवलपुरमा ५५ हजार ५२७ जना, स्याङ्जामा ४५ हजार ७५५ जना, कास्कीमा २८ हजार ६८२ जना, बागलुङमा २४ हजार ९०६ जना र म्याग्दीमा २३ हजार ७९९ जना प्रभावित हुने सम्भावना छ । 

मनसुनजन्य विपद्बाट यस वर्ष लुम्बिनी प्रदेशको कपिलवस्तुमा ८४ हजार ४४९ जना, बर्दीयामा ८३ हजार ८१३ जना, दाङमा ६४ हजार ८८१ जना, बाँकेमा ५६ हजार १७३ जना, नवलपरासीमा ४५ हजार ८७८ जना, प्यूठानमा ४४ हजार ५८९ जना, रुपन्देहीमा ४१ हजार ७५ जना र पाल्पामा २५ हजार ८२७ जना प्रभावित हुने प्राधिकरणको अनुमान छ । 

कर्णाली प्रदेशको जाजरकोटमा २९ हजार ८८३, सल्यानमा २१ हजार ९४२ र रुकुम पश्चिममा २० हजार २६६ जना प्रभावित हुने सम्भावना छ । सुदूरपश्चिमको कञ्चनपुरमा ३६ हजार ८९६ जना, कैलालीमा ३२ हजार ३८० जना, बैतडीमा ३२ हजार १२४ जना, बाजुरामा ३० हजार ७६६ जना र डडेलधुरामा २९ हजार ५९३ जना प्रभावित हुने सम्भावना छ । 

अघिल्ला वर्षहरूमा प्रभाव 

बितेको १० वर्षमा मनसुन समयमा ८ हजार ४१८ वटा मनसुनजन्य विपद्का घटना रेकर्ड भएका छन् । प्राधिकरणका अनुसार, ती घटना २०७२ देखि २०८१ सालसम्मको मनसुनमा रेकर्ड गरिएको हो ।

उक्त अवधिमा मनसुनजन्य विपद्का घटनामा परी २ हजार ३१७ जनाले ज्यान गुमाएका थिए भने ४१९ जना बेपत्ता भएका थिए । पछिल्लो १० वर्षमा मनसुनजन्य विपद्का घटनाका कारण २ हजार ६४९ जना घाइते र ५६ हजार ७०५ परिवार प्रभावित भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

यस्तै करिब ३६ हजार ४७९ व्यक्तिगत घरमा मनसुनजन्य विपद्ले क्षति गरेको थियो । गत वर्ष (२०८१) को मनसुन अवधिमा देशभर कुल १ हजार ६९१.३ मिलिमिटर वर्षा भएको थियो । उक्त वर्षाका कारण बाढी, पहिरो जस्ता विपदमा परी ४९५ को मृत्यु र ६६ जना बेपत्ता भएका थिए ।

गतवर्षको मनसुनमा १० हजार ८२३ परिवार प्रभावित भएका थिए । गतवर्ष बाढी पहिरोले २४४ वटा पक्की तथा झोलुङ्गे पुल, १८९ वटा शैक्षिक संस्था, १५० वटा सरकारी कार्यालय र ८५ वटा जलविद्युत आयोजनामा क्षति गरेको थियो । गत वर्ष मनसुनजन्य विपद्का घटनाबाट राज्यले ४६ अर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको थियो ।

यस वर्ष के छ सरकारको तयारी ?

विगतको तथ्याङ्कले मनसुन अवधिमा मनसुनजन्य विपद्का घटनाले ठूलो जनधनको क्षति गर्ने देखाउँछ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जनाएको छ ।

यसैकारण यो वर्ष मनसुनजन्य विपद्बाट हुने जनधनको क्षति कम गर्न राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ तयार पारेको छ । 

कार्ययोजनामा सरोकारवाला सबै निकायको जिम्मेवारी स्पष्ट किटान गरिएको छ । निजी क्षेत्रले खोज तथा उद्धारको लागि र्याफ्ट बोट, डुङ्गा तथा गोताखोर टोली उपलब्ध गराउनेछन् । “यातायात तथा पारवहन क्षेत्रले चालक, सहचालकमार्फत यात्रुहरूलाई सम्बन्धित क्षेत्रको मौसम पूर्वानुमान, विपद् जोखिमको अवस्था र अपनाउनुपर्ने सावधानीबारेमा जानकारी गराउने,” कार्ययोजनामा भनिएको छ । 

सञ्चार क्षेत्रमार्फत मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि जनचेतना अभिवृद्धि, पूर्वसूचना तथा चेतावनी सम्प्रेषण र विपद्को समयमा यथार्थ र तथ्यपरक सूचना प्रवाह गरिनेछ । 

मनसुन सुरु भएपछि ३० दिन, ६० दिन, ९० दिन र मनसुन बहिर्गमनपश्चात् मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यको समग्र अवस्थाबारे प्राधिकरणले समीक्षा र लेखाजोखा गर्नेछ ।

स्थानीय तहले मनसुनअगावै सहर बस्तीका ढल सफा गर्ने, खोला नालामा अत्यधिक थुप्रिएका गेग्रान हटाउने तथा पानीका निकासहरू खोल्ने कार्यहरू गर्न भनिएको छ । “बाढी, पहिरो तथा पानीजन्य अन्य विपद्सम्बन्धी सचेतनाका लागि सञ्चार सामाग्री विभिन्न भाषामा तयार गरी विभिन्न सञ्चारका माध्यममार्फत प्रचार–प्रसार गर्ने,” कार्ययोजनामा भनिएको छ, “बाढी, डुबान, पहिरो (सम्भव भएसम्म), संक्रामक रोग लगायतको पूर्वसूचनाका लागि दूरसञ्चार सेवा प्रदायक संस्थामार्फत सचेतना एसएमएस सम्प्रेषण गर्ने ।” 

बाढी, पहिरोका कारण टेलिफोन टावरहरूमा क्षति पुगेमा सञ्चार व्यवस्थाका लागि मोबाइल टावरको व्यवस्था गर्ने तयारी गरिएको कार्ययोजनामा उल्लेख छ । 

मौसम पूर्वानुमान महाशाखाको मौसम कक्ष २४ सै घण्टा सञ्चालनमा रहनेछ । तीन दिन ( ७२ घण्टा ) सम्मको मौसमको पूर्वानुमान बुलेटिन दैनिक रूपमा बिहान र बेलुका अपडेट गर्नेछ । 

जल तथा मौसम विज्ञान विभागले मौसमको विशेष अवस्थामा ३ दिन अगावै चेतावनीसहितको आकस्मिक मौसम बुलेटिन जारी गर्नेछ । भारी, धेरै भारी र अति भारी वर्षाको विशेष पूर्वानुमान ५ दिन अगावै जारी गरी सरोकारवालाहरूलाई विभागले पठाउनेछ ।

“पूर्वसूचना सर्वप्रथम बाढीबाट प्रभावित हुने नदी जलाधारका क्षेत्रका संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय जनप्रतिनिधिहरूलाई तत्कालै एसएमएसमार्फत जानकारी गराउने,” कार्ययोजनामा उल्लेख छ । 

बाढी सतर्कता तह नजिक पुग्न लागेमा, सतर्कता तह पार गरेमा, खतरा तह पार गरेमा वा अन्य विषम अवस्थामा देशका मुख्य नदी जलाधारहरूमा बाढीबाट प्रभावित हुने मुख्य नदी जलाधारका सर्वसाधारणहरूलाई मोबाइलमा एसएमएस पठाउने तयारी गरिएको छ । 

सर्वसाधारणका लागि ११५५ नम्बरको टोल फ्रि सेवा बाढी पूर्वसूचना प्रदान गर्ने उद्देश्यले मनसुनभर सञ्चालन गर्ने । पूर्वसूचना प्रवाह थप प्रभावकारी बनाउन यसपटकको मनसुनमा इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आईभीआर) प्रणाली सुरु गरिने प्राधिकरणले जनाएको छ । 

नेपाल प्रहरीले केन्द्रमा खोज तथा उद्धार प्रतिकार्यका लागि तत्काल खट्ने गरी दैनिक २५ जनाको क्युआरटी टोली खोज तथा उद्धार सामग्रीहरूसहित तत्काल परिचालन हुनसक्ने गरी २४/७ तयारी अवस्थामा राख्नेछ । 

विपद् व्यवस्थापन कार्यालय र प्रदेश प्रहरी कार्यालयहरू तथा प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्महरूमा ‘वाटर रेस्क्यु’ तालिम प्राप्त २७६ र पौडिन जान्ने २ हजार ८२३ प्रहरी तयारी अवस्थामा राखिएको छ । 

मनसुनको समयमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न नेपाली सेनाले आवश्यक हेलिकप्टर तयारी अवस्थामा राखेको छ । सेनाले कोशी र मधेश प्रदेशका लागि एउटा हेलिकप्टर ‘मध्य–एयरबेश’ काठमाडौंमा राखेको छ ।

सेनाले कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका लागि एउटा हेलिकप्टर ‘पश्चिम एयर बेश’ सुर्खेतमा राखेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका लागि एउटा हेलिकप्टर १ (एक) ‘मध्य एयर बेश’ काठमाडौंमा राखिएको छ ।

विपद् प्रभावित स्थानको एयरपोर्ट सुचारु भएको अवस्थामा ‘फिक्स्ड विङ’ हवाई साधनमध्ये एयर बेश काठमाडौंमा स्ट्याण्डवाई रहनेछ । ‘कम्पोजिट क्वीक रिएक्सन टिम (सीक्युआरटी) लाई १५ मिनेटभित्र हवाई साधनद्वारा परिचालन गर्न सक्ने गरी नेपाली सेनाको गौचर ब्यारेक काठमाडौंमा तयारी अवस्थामा राखिएको छ ।

सशस्त्र प्रहरी बल, नेपालले प्रधान कार्यालय, बाहिनी, शिक्षालय, गण, गुल्म, बिओपी तथा बेशहरूमा तोकिएको तालिम प्राप्त जनशक्तिसहित चौबिसै घण्टा परिचालन हुने गरी राखेको छ । 

“समुदायस्तरमा विपद्सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक रुपमा कार्य गर्ने उद्देश्यले देशभरका सम्पूर्ण वडाहरूमा असार मसान्तभित्र हरेक वडामा २५ जनाको विपद् सूचक समूह निर्माण गर्ने कार्य भइरहेको, देशभरका वडाहरूमा २५ जनाको दरले १ लाख ६८ हजार ५७५ विपद् सूचक समूह तयार गर्ने,” कार्ययोजनामा भनिएको छ ।

विपद् प्रतिकार्यका लागि समुदायस्तरमा स्वयंसेवक विपद् उद्धारक तयार गर्न स्वीकृत पाठ्यक्रम अनुरुप यस वर्ष ७४३ पालिकाहरूमा १४७ तालिम संचालन गरी ३ हजार ६७५ विपद् स्वयंसेवक तयार गर्ने योजना प्राधिकरणको छ ।

नेपाल प्रहरीसँग जोखिम न्यूनीकरण पूर्वतयारी तथा प्रतिकार्यका लागि विपद् विशिष्टीकृत ५ सय इकाइहरू छन् । खोज तथा उद्धारका लागि सट्याण्डबाई रहने प्रहरी जनशक्ति १० हजार ८५ छ । 

खोज, उद्धार र राहत वितरणका लागि हेलिकप्टरको अलवा नेपाली सेनासँग ५३ ओबीएम, ३० वटा पावर बोट, ६९ वटा र्‍याफ्टीङ बोड र ३ वटा एक्रो ब्रिज छन् । सडक विभागसँग १२ वटा बेलीब्रिज र २७७ वटा हेभी इक्युपमेन्ट रहेको कार्ययोजनामा उल्लेख छ । 

मनसुनजन्य विपद्को समयमा खटाउन सशस्त्र प्रहरी बल, नेपालसँग विपद् प्रतिकार्यसँग सम्बन्धित ७ हजार ६१५ जनशक्ति छ । सशस्त्र प्रहरीसँग प्रदेशगत हेभी इक्युपमेन्ट १३ वटा, तालिम प्राप्त गोताखोर १२८ जना, ९१ वटा रेक्यु बोट, ३३ वटा मोटरबोट, २८ वटा डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनर, ८ वटा मास क्याजुयल्टी भेकल र ८ वटा एम्बुलेन्स छ । 

विपद् कोषको अवस्था के छ ? 

विपद्को बेला तत्काल खोज तथा उद्धार र राहत वितरण गर्न सहज होस् भनी कोषको व्यवस्था गरिएको छ । ती कोषहरूमा कुल ४ अर्ब ६५ करोड २४ लाख १८ हजार २८६ रुपैयाँ छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब ८९ करोड २९ लाख ७२ हजार ४२१ रुपैयाँ छ । केन्द्रीय विपद् व्यवस्थापन कोषमा १ अर्ब २७ करोड ४७ लाख ७३ हजार १०५ रुपैयाँ छ । 

सात प्रदेशका प्रदेश विपद् व्यवस्थापन कोषमा कुल ७९ करोड ४१ लाख २९ हजार ३९३ रुपैयाँ छ । ती कोषमध्ये कोशी प्रदेशमा ६ करोड ९० लाख ५८ हजार, मधेश प्रदेशमा ११ करोड ७८ लाख २६ हजार, बागमती प्रदेशमा ७ करोड ५८ लाख २६ हजार, गण्डकी प्रदेशमा २५ करोड ३० लाख ७० हजार, लुम्बिनी प्रदेशमा ६ करोड ५० लाख ५० हजार, कर्णाली प्रदेशमा ९ करोड ५२ लाख ३३ हजार र सुदूरपश्चिम प्रदेशमा ११ करोड ८० लाख ९० हजार रुपैयाँ छ । 

७७ जिल्लामा रहेका जिल्ला विपद् व्यवस्थापन कोष कुल ६९ करोड ५ लाख ४३ हजार ३६७ रुपैयाँ छ ।
 

 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्