site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थ मन्त्रालयले थाल्यो आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य

काठमाडौं । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य थालेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादाम्य मिलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य सुरु भएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिएका छन् । बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुख्यसचिव एकनारायण अर्यालले खरिद प्रक्रिया अघि बढाउन थप ऐन कानुन जरुरी नभएको उल्लेख गर्दै बजेटमा उल्लेख भएअनुसार खरिदका लागि तयारी प्रक्रिया अघि बढाउँदा हुने धारणा व्यक्त गरे ।

बैठकमा चालु आर्थिक वर्षको पुँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे पनि छलफल भएको थियो ।

बैठकमा अर्थसचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चित भएका र आवश्यक कागजात भएका योजना तथा कार्यक्रमको सम्बन्धमा रकमान्तरलगायत विषयमा अर्थ मन्त्रालयले तत्काल सहजीकरण गर्ने बताए । उनले स्रोत सहमति भएका र कागजात पूरा भएका आयोजना तथा कार्यक्रमको सम्बन्धमा सहजीकरणका लागि आवश्यक परे बिदा र शनिबारको दिन पनि काम गर्ने बताए । उनले प्रक्रिया पुगेका र हुन सक्ने काममात्र अर्थ मन्त्रालयमा पठाउन सम्बन्धित मन्त्रालयका सचिवलाई अनुरोध गरे ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जल स्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालयलगायत सचिव उपस्थिति थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्