site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अभिवन्द्य, सीमान्त सम्झना र आमा ! जानुहोस्

नरेन्द्रबहादुर श्रेष्ठ : आलेख र अभिलेख
(अभिलेख ग्रन्थ : प्र.सं. प्रमोद प्रधान)
कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठको ७७औँ जन्मदिनको अवसर पारेर प्रकाशित ग्रन्थ हो, ‘नरेन्द्रबहादुर श्रेष्ठ ः आलेख र अभिलेख’ । केही समयअघि प्रकाशित यो कृतिको प्रधानसम्पादक प्रमोद प्रधान हुन् भने सम्पादकहरूमा श्रीओम श्रेष्ठ ‘रोदन’, विमल भौकाजी र मुरारि सिग्देल रहेका छन् ।

पुस्तकको प्रकाशकीयमा राधेश्याम लेकालीले लेखेका छन्, “विचारका दृष्टिले स्वतन्त्र सर्जक नरेन्द्र देश, जनता, स्वतन्त्रता, मानवता, प्रजातन्त्रका लागि लेख्नुहुन्छ । विकास र समृद्धिको लागि सोच्नुहुन्छ । ... ।”

ग्रन्थभित्रको आठ खण्डमा नरेन्द्रबहादुरको व्यक्तित्व, समालोचना, कला, संस्मरण, पारिवारिक, विविध लेख, कविता र अन्तर्वार्ताहरू समेटिएको छ । व्यक्तित्वअन्तर्गत विभिन्न सर्जक तथा व्यक्तिहरूले श्रेष्ठ र उनीसँगको सम्बन्धका बारेमा लेखेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साहित्यिक पत्रकार संघका लागि नेपाल इकरात इन्जिनियरिङ प्रालिद्वारा प्रकाशित ४८८ पृष्ठको यो ग्रन्थको मूल्य तोकिएको छैन ।

०००

आमा ! जानुहोस्
(कथासंग्रह : माया ठकुरी)
अग्रज कथाकार माया ठकुरीको एक समय चर्चामा रहेको कथाकृति ‘आमा ! जानुहोस्’को तेस्रो संस्करण बजारमा ल्याइएको छ । ठकुरीका यसअघि आधा दर्जनभन्दा बढी कथाकृति प्रकाशित छन् ।

कथाकार ठकुरीले कृतिभित्र लेखेकी छन्, “साहित्य लेखन मेरो जीवनको एउटा अपरिहार्य कार्य बनिसकेको छ । नलेखी म बस्न सक्दिनँ, तर समयको अभावले गर्दा चाहेजति लेख्न पनि सकिरहेकी छैन ।”

डा. गोविन्दराज भट्टराईले कृतिमा लेखेका छन्, “प्रस्तुत संग्रह वर्तमान समयका कतिपय छाप र कतिपय मानवीय प्रवृत्तिका सर्वकालीन चरित्र बोकेर आएको छ । ... ।”

पुस्तकको ब्लर्बमा प्रा. डा. सुरेन्द्र केसीले लेखेका छन्, “‘आमा ! जानुहोस्’ कथासंग्रहका कथामा माया ठकुरीले निकै मार्मिक विषय उठान गर्नुभएको छ । ... ।”

कृतिभित्र ठकुरीका १५ कथा समेटिएको छ ।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित १४० पृष्ठको यो कथाकृतिको मूल्य २७०/– रुपैयाँ राखिएको छ ।

०००

उज्यालो आशा
(हाइकु/सेन्युसंग्रह : चिरञ्जीवी देवकोटा)
साहित्यमा कलम चलाउनेको लहरमा हाइकु र सेन्युसंग्रह लिएर आइपुगेका सर्जक हुन्, चिरञ्जीवी देवकोटा । उनको काव्यकृति ‘उज्यालो आशा’ केही समयअघि सार्वजनिक गरिएको छ ।

पुस्तकको भूमिकामा डा. मधुसूदन गिरीले लेखेका छन्, “...जीवनको झन्डै उत्तरार्धतिर हाइकु लेखन अभियानमा लागेका देवकोटाका प्रस्तुत संग्रहका हाइकु देवकोटाकै जीवनभोग र बोधका अनुभव र अनुभूतिका रूपान्तरण हुन् । ... ।”

कृतिकार देवकोटाले आफ्नो भनाइमा लेखेका छन्, “मैले हाइकुको सामान्य नियममा आधारित भएर लेखेँ । यसको विधान पालनामा त्रुटि भए क्षमा पाउने नै छु । ... ।”

यो पुस्तकभित्र कवि देवकोटाका ३७५ हाइकु पढ्न सकिन्छ ।

अनुसन्धान विमर्श नेपालद्वारा प्रकाशित १३६ पृष्ठको यो कृतिको मूल्य २५१/– रुपैयाँ राखिएको छ ।

०००

रेडियो नेपालका ७५ वर्ष : १०१ स्रष्टा
(व्यक्तिवृत्त : डा. टीका भण्डारी)
रेडियो नेपाल र रेडियोबाट गीत नसुन्ने नेपाली कमै होलान् । रेडियो नेपाल हरेक नेपालीसँग कुनै न कुनै रूपमा जोडिएको छ । गीतसंगीतबाट होस् अथवा समाचारबाट, नाटकबाट होस् अथवा कृषि कार्यक्रमबाट । रेडियो नेपाल स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेर डा. टीका भण्डारीद्वारा लेखिएर सार्वजनिक पुस्तक हो, ‘रेडियो नेपालका ७५ वर्ष : १०१ स्रष्टा’ ।

यसको प्रकाशकीयमा डा. महेन्द्र विष्टले लेखेका छन्, “प्रजातन्त्र नेपाल रेडियोको तरंगमा पहिलो आवाज दिने व्यक्तित्व तारिणीप्रसाद कोइरालादेखि प्रथम गायक हरिप्रसाद रिमाल हुँदै स्वरसम्राट नारायणगोपालसम्मका सुमधुर आवाजले रेडियो नेपालको इतिहास रचना भएको छ । नातिकाजी, शिवशंकर, रानुदेवी, कोइलीदेवी, धर्मराज थापा, गंगा राणा, माणिकरत्न, प्रेमध्वज प्रधानलगायत संगीतशिल्पीहरूको योगदानले यसको गौरवगाथा कोरिएको छ । उहाँहरू र उहाँहरूजस्ता सयौँ स्रष्टाको अमूल्य योगदानलाई स्मरण गर्दै रेडियो नेपालले यो कृति तयार गरेको छ ।”

मेरो भन्नुमा डा. भण्डारीले लेखेका छन्, “कृति लेखनको जिम्मेवारी मेरो लागि निकै कठिन अवसर थियो, तर तीसौँ वर्ष रेडियो नेपालमा सेवा गरेर अवकाश समेत भइसकेको मैले यो जिम्मेवारीलाई मप्रतिको विश्वास र नयाँ धापका रूपमा लिएँ । २ महिनाको अवधिमा १०१ जना स्रष्टाको जीवनी लेख्ने कुरा आफैँमा चुनौतीपूर्ण हो । ... ।”

यो पुस्तकमा तारिणी कोइराला, रानुदेवी, हरिप्रसाद रिमालका साथै अलि मियाँ, बच्चु कैलाश, भूपी शेरचन, सीके रसाइली, चेतन कार्की, दीपक जंगम, दीपक खरेल, दिव्य खालिङ, गणेश रसिक, हरिभक्त कटुवाल, ईश्वर बल्लभ, यादव खरेल, किरण खरेल, मीरा राणा, तारादेवी, तारा थापा, तीर्थकुमारी, उदितनारायणसहित थुप्रै सर्जकको जीवनवृत्त प्रस्तुत गरिएको छ ।

सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालद्वारा प्रकाशित ४४० पृष्ठको यो किताबको मूल्य ४९९/– रुपैयाँ राखिएको छ । 

०००

सीमान्त सम्झना
(स्मृति : गणेशप्रसाद लाठ)
नेपालको सीमावर्ती सहर, आर्थिक नगरीका रूपमा परिचित वीरगन्जका रैथाने बासिन्दा गणेशप्रसाद लाठको पछिल्लो कृति हो, ‘सीमान्त सम्झना’ । अनुभूति, स्मृतिसहित वीरगन्जसँग जोडिएका ऐतिहासिक विषयवस्तु लाठको यो पुस्तकमा समावेश छ ।

उनले यसअघि केही आख्यान र अरू कृति गरेर चार पुस्तक बजारमा ल्याइसकेका छन् । यो उनको पाँचौँ कृति हो, जसमा उनले आफूले सुनेको, देखेको, जानेको, बुझेको र भोगेको वीरगन्जलाई प्रस्तुत गरेका छन् । यो गैरआख्यान पुस्तक हो ।

कृतिकार लाठले आभारमा लेखेका छन्, “...धरतीमा पाइला टेकेदेखिका संस्मरणहरू संकलन गर्दै बसिराखेको छु । तिनलाई कागजमा उतार्ने कामचाहिँ पछिल्ला तीन वर्षमा गरेँ । अनि तयार भयो— सीमान्त सम्झना । ... ।”

पुस्तकको ब्लर्बमा लेखिएको छ, “सीमान्त सम्झना एउटा उत्सुक बालक–किशोरले देखेको आफ्नो घर–समाजको रूपान्तरणको संस्मरण हो । ... ।”

यो पुस्तकभित्र लाठका २३ शीर्षकमा अनेक रोचक र हृदयस्पर्शी सम्झना सम्प्रेषित छ ।

पब्लिकेसन नेपालयद्वारा प्रकाशित ३३६ पृष्ठको यो पुस्तकको मूल्य ७४५/– रुपैयाँ राखिएको छ ।

००० 

अभिवन्द्य
(व्यक्तिनिबन्ध : श्रीओम श्रेष्ठ ‘रोदन’)
निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लेखेका अनेक पुस्तक प्रकाशित छन् । उनको व्यक्तिनिबन्धकृति ‘अभिवन्द्य’को तेस्रो संस्करण बजारमा ल्याइएको छ । यो उनको छैटौँ निबन्धकृति हो । यसमा केही निबन्ध थपिएको र सम्पादन गरेर सार्वजनिक गरिएको हो ।

कृतिभित्र निबन्धकार तथा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले लेखेका छन्, “मेरो तात्कालिक प्रसंग रहेको छ– श्रीओमजीले यस ठेलीमा समावेश गर्नुभएका प्रत्येक स्रष्टालाई आफ्नै ब्रह्मविवेकले पारख गर्नुभएको छ । ... ।”

निबन्धकार रोदनले आफ्नो मन्तव्यमा लेखेका छन्, “हुन्छ तुलना हरेक क्षेत्रमा । विषय र व्यवहारमा पनि । नहुनुपर्ने हो सम्मानमा । पूर्ण हुन्छ जस्तो भए पनि । हुन्छ श्रद्धा सबैभन्दा ठूलो । आदर्शमा पनि र यथार्थमा पनि । हो श्रद्धा नै सम्मान । हो सम्मान, सम्झनामा लेख्नु पनि ।”

यो ग्रन्थमा ५९ साहित्यकार र स्रष्टाका व्यक्तिनिबन्ध प्रस्तुत छ ।

सुन्दर स्वदेश पब्लिकेसनद्वारा प्रकाशित ३७४ पृष्ठको यो निबन्धकृतिको मूल्य ८००/– रुपैयाँ राखिएको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्