
सागर फुयाल
अभावमै हुर्किएको थियो ऊ पनि
राम्रो खाने र लाउने रहरसम्म
दबाएर हिँड्न विवश थियो ऊ पनि
स्वाभिमानको धारमा टेकेर
जमाना कहाँबाट कहाँ पुगिसक्यो
स्वीकार्य छैन अब जिन्दगी यो अभावको
ल्याउँछु केही न केही उपाय खोजी भनेर
वर्षौंअघि गएको थियो ऊ
अभावको अबिराम प्रहारले
स्वाभिमान चिराचिरा परिसक्दा पनि
परिवार परिवार
समाज समाज भाँडिइसक्दा पनि
विचलनको प्रकोपले यति गाँजिसक्दा पनि
अहिलेसम्म ऊ कहाँ गयो, केही खबर छैन ।
गाउँमै राख्नुपर्छ गाउँका युवालाई भन्थ्यो
क्रान्ति गर्नुपर्छ कृषिमा भन्थ्यो
ल्याउनेछु त्यसका लागि प्रविधि, ज्ञान र पुँजी भनेर
वर्षौंअघि गएको थियो ऊ
युवाहरू जम्मै नयाँ मुग्लान पसिसक्दा पनि
गाउँमा मलामी भेटिन छोडिसक्दा पनि
खेतबारी जंगलले ढाकिसक्दा पनि
गाउँबाट रोदी र भैलोका उल्लासहरू हराइसक्दा पनि
अहिलेसम्म ऊ कहाँ गयो, केही खबर छैन ।
दियो मन्दिरमा बल्छ, घरमा बल्छ, मनमा बल्छ
आस्था, भरोसा र प्रेरणा
तेल बनी प्रज्वलित भएका हुन्छन् दियोमा
यिनै तेलका अभावले दियोहरू मधुरो हुन थालेपछि
छिट्टै आउँछु तेल लिएर भन्दै गएको थियो ऊ
पालैपालो दियोहरू निभ्न थालिसक्दा पनि
फैलिएर अन्धकार डरले घेरिसक्दा पनि
आस्था, भरोसा र प्रेरणाहरू धर्मराइसक्दा पनि
अहिलेसम्म ऊ कहाँ गयो, केही खबर छैन ।
यो हदमा बेखबर भएपछि खोज्नलाई यो मान्छे
निकालिएको छ एउटा सूचना–
मान्छे हराएको सूचना
भेटिहालेमा कसैले उसलाई
पर्दैन बुझाउनु नजिकको पुलिसथानामा
बरु सोधिदिनू–
सपना बाँडेर, आश्वासन दिएर
आक्रान्त ती विवश मान्छेहरूलाई
कहाँ हरायौ तिमी ?
किन हरायौ तिमी ?
बाँचेको छौ कुन परिवेशमा अहिले तिमी ?
(बर्लिन)