
काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई क्यानडाको अल्बर्टामा हुने जी–७ शिखर सम्मेलनका लागि निमन्त्रणा पठाएका छन् । दुवै देशबीच तनावपूर्ण सम्बन्ध बने पनि भारतीय प्रधानमन्त्री मोदीले निमन्त्रणा स्वीकार गरेको सीएनएनले जनाएको छ ।
गत वर्ष क्यानडामा भारतीय मुलका एक शिख क्यानडियनको हत्या र अन्य अपराधको आरोपमा दुवै देशले एकअर्काका शीर्ष कूटनीतिज्ञहरूलाई निष्कासन गरेका थिए ।
यो निमन्त्रणाले क्यानडाको वल्र्ड सिख अर्गनाइजेसनलाई उत्तेजित बनाउने समाचारमा बताइएको छ । शिख अर्गनाइजेसनले मे महिनामा कर्नीलाई मोदीलाई नबोलाउन अनुरोध गर्दै पत्र लेखेको थियो । सन् २०२३ मा ब्रिटिस कोलम्बियामा एक सिख पृथकतावादी क्यानाडियन नागरिकको हत्यामा भारतीय सरकारी एजेन्टहरू संलग्न भएको आरोपपछि क्यानडा र भारतबीच तनाव अझै उच्च छ ।
कर्नीले शुक्रबार दुवै नेताबीच टेलिफोन वार्तामा मोदीलाई यो निमन्त्रणा गरेको बताइएको छ । जी–७ शिखर सम्मेलन जुन १५ देखि १७ सम्म चल्नेछ ।
“भारत संसारको पाँचौँ ठूलो अर्थतन्त्र हो, संसारको सबैभन्दा बढी जनसंख्या भएको देश हो र आपूर्ति श्रृंखलाको केन्द्रमा छ,” कार्नीले पत्रकारहरूलाई भने । साथै दुवै देशबीच कानुनको परिपालना सम्बन्धी वार्तामा केही प्रगति भएको पनि कर्नीले बताए ।
“मैले प्रधानमन्त्री मोदीलाई निमन्त्रणा गरेँ र उनले स्वीकार गरे,” कार्नीले भने ।
क्यानडाले भारतलाई सन् २०२३ मा हरदीप सिंह निज्जरको हत्यामा भारतीय शीर्ष कूटनीतिज्ञ संलग्न रहेको बताएपछि एक–अर्काका राजदूतलाई निष्कासन गरेका थिए । क्यानडाली प्रहरीले भारतीय सरकारी एजेन्टहरूद्वारा क्यानाडियन नागरिकविरुद्ध चलेको अभियानको प्रमाण पनि पाएको बताएको थियो ।
मोदीले कर्नीको फोन आएकोमा खुसी व्यक्त गर्दै उनको हालको निर्वाचनमा जितको लागि बधाई दिए ।
“जनता–जनता बीचको गहिरो सम्बन्धले जोडिएका जीवन्त लोकतन्त्रहरूको रूपमा भारत र क्यानडा आपसी सम्मान र साझा हितको मार्गदर्शनमा नयाँ उत्साहका साथ सँगै काम गर्नेछन् । शिखर सम्मेलनमा हाम्रो भेटघाटको प्रतिक्षामा छु,” मोदीले सोसल मिडियामा पोष्ट गर्दै भने ।
४५ वर्षीय निज्जरलाई ब्रिटिस कोलम्बियाको सिख मन्दिरनजिकै पिकअप ट्रकमा गोली हानिएको थियो । भारतमा जन्मिएका क्यानेडियन नागरिक निज्जर एक प्लम्बिङ व्यवसायी थिए । स्वतन्त्र सिख राष्ट्र निर्माणको अभियानका नेतृत्वकर्ता थिए ।
क्यानडामा बस्ने चार भारतीय नागरिकलाई निज्जरको हत्यामा आरोप लगाइएको छ ।
क्यानडाको वल्र्ड सिख अर्गनाइजेसनका कानुनी सल्लाहकार र प्रवक्ता बलप्रित सिंहले कर्नीले मोदीलाई निमन्त्रणा गरेर क्यानेडियन मूल्यहरूको विश्वासघात गरेको बताए । सीएनएन