site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारत–पाकिस्तानले विदेशमा प्रतिनिधिमण्डल पठाएर के हासिल गरे ?

काठमाडौं । कश्मीरको पहलगाममा पर्यटकमाथि आक्रमण गरिएपछि भारत र पाकिस्तानबीच तनाव बढ्यो । र, त्यो सैन्य संघर्षमा परिणत भयो ।

भारतले पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरका नौ स्थानमा आक्रमण गर्‍यो । त्यसलाई ‘अपरेसन सिन्दूर’ भनियो । पाकिस्तानले पनि जवाफी कारबाही गर्‍यो । यो घटना भएको एक महिना बितिसकेको छ ।

यसबीचमा भारत र पाकिस्तान दुवैले विश्वका धेरै देशमा आफ्ना प्रतिनिधिमण्डल पठाए । भारतले आतंकवाद र सीमा सुरक्षाको प्रश्नमा समर्थन माग्यो । पाकिस्तानले मानवअधिकार र क्षेत्रीय अस्थिरताको मुद्दा उठायो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारत र पाकिस्तानको यो अभियान केवल कूटनीतिक लडाइँ थियो वा दुई देशको आन्तरिक राजनीति, सेना, सत्तासमीकरण र मिडियाको ‘न्यारेटिभ’ले जटिल बनाएको हो ?

भारतमा यो मुद्दाका विषयमा सत्ता र विपक्षी दलबीच तीव्र बहस भयो । तर, पाकिस्तानमा सरकार र सेनाको जुगलबन्दीले यो पूर्ण विषयको दिशा निर्धारण गरेको देखिन्छ ।

भारत–पाकिस्तानको अन्तर्राष्ट्रिय कूटनीतिक अभियान कस्तो रह्यो ?
पहलगाममा पर्यटकमाथिको आक्रमणलाई सम्पूर्ण विश्वले निन्दा गर्‍यो । तर, जब भारत र पाकिस्तानबीच संघर्ष भयो, विश्वका देशको कूटनीतिक प्रतिक्रिया एउटै भएन ।

कौटिल्य स्कुल अफ पब्लिक पलिसीमा सहायक प्राध्यापक कनिका राखराले भनिन्, “भारतको अपरेसन सिन्दूरलाई पनि समर्थन मिल्यो । अमेरिकी रिपब्लिकन नेता निक्की हेलीले सामाजिक सञ्जाल एक्समा हरेक देशले आफ्नो सुरक्षाको हक भएको भन्दै लेखेकी थिइन् । यस्ता धेरैले भारतलाई समर्थन गरे, जो विभिन्न देशका सरकारमा बसेर काम गरिसकेका छन् ।”

राखराले अगाडि भनिन्, “मैले मानिसले कम समर्थन गरिरहेको जस्तो देखिनँ । तर के हो भने, पाकिस्तान पनि एक देश हो, त्यसैले हरेक देशले सन्तुलन मिलाउनुपर्छ ।”

उनका अनुसार, विश्वभरिबाट भारतले धेरै समर्थन पायो । कसैले खुलस्त रूपमा भने कसैले दबिएर भारतको समर्थन गरे ।

प्राध्यापक राखराले भनिन्, “भारतीय प्रतिनिधिमण्डलले उनीहरू गएका देशका समस्यासँग जोडेर आफ्नो कुरा राखे । यसले गर्दा उनीहरूले आउने दिनमा के प्रभाव पार्न सक्छ यो बुझाउन सफल भए ।”

कूटनीतिमा राजनीति
विदेश भ्रमणमा गएका भारतका सात प्रतिनिधिमण्डलमध्ये एकमा कांग्रेस नेता शशि थरूर सामेल भए । भारतको विपक्षी कांग्रेस पार्टीले थरूरको सहभागितालाई सहज लिएको थिएन । विभिन्न टिप्पणी गरियो ।

यसबारे भारतका वरिष्ठ पत्रकार नीरजा चौधरीले भनिन्, “यो सरकारी प्रतिनिधिमण्डल हो, संसदीय प्रतिनिधिमण्डल थियो भन्ने गलत बुझाइ भयो । किनभने, संसदीय कार्यमन्त्री किरेन रिजिजूले मल्लिकार्जुन खड्गे र राहुल गान्धीसँग कुरा गरेर नाम मागे । उनीहरूले चार नाम दिए । उनीहरूले आनन्द शर्मालाई छोडेर तीन नाम हटाए । बाँकी अरूलाई प्रतिनिधिमण्डलमा समावेश गरियो ।”

सरकारले जानीजानी पार्टीले सिफारिस गरेका व्यक्तिलाई नपठाएर मल्लिकार्जुन खड्गेसँग अध्यक्षमा चुनाव लडेर हारेका व्यक्तिलाई छानेर भाजपाले कांग्रेसभित्र धेरै मतभेद छ भन्ने देखाउन चाहेको उनले टिप्पणी गरिन् ।

भारतीय प्रतिनिधिमण्डलका विषयमा देशभित्र धेरै चर्चा छ । पाकिस्तानले पनि आफ्ना प्रतिनिधिमण्डल विभिन्न देशमा पठाएको छ । तर, पाकिस्तानी प्रतिनिधिमण्डलमा इमरान खानको पार्टी समावेश भएन ।

बीबीसी उर्दुका वरिष्ठ सम्पादक आसिफ फारुकीले भने, “पाकिस्तानमा यसबारे धेरै महत्त्वपूर्ण चर्चा चलिरहेको र पाकिस्तानी प्रतिनिधिमण्डलमा पूर्वप्रधानमन्त्री एवं जेलमा बन्दी इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का व्यक्तिहरू समावेश नहुनु सरकारका निम्ति यो ठूलो सेटब्याक हो ।”

फारुकीले अगाडि भने, “शशि थरूर र अरू व्यक्तिहरूको उदाहरण दिइएको छ, जो भारतको आवाज उच्च स्वरमा उठाउँदै छन् । मानिस पाकिस्तानी प्रतिनिधिमण्डलमा विपक्षी दल समावेश भएको भए यसको प्रभाव फरक हुने भनिरहेका छन् ।”

फारुकीका अनुसार, पाकिस्तानी प्रतिनिधिमण्डलले विदेशमा आफ्नो भनाइ राख्ने तरिकामा सकारात्मक प्रतिक्रिया देखिएको छ । पीटीआईको अनुपस्थितिले खासै प्रभाव पारेको छैन ।

यस्ता प्रतिनिधिमण्डल कति प्रभावकारी ?
यस्ता प्रतिनिधिमण्डल अरू देशको धारणा परिवर्तन गर्न कति प्रभावकारी हुन्छन् ? भन्ने प्रश्नको जवाफमा प्राध्यापक राखराले भनिन्, “यसमा दुई प्रकारका कुरा छन् । पहिलो, जब तपाईं साथीको अगाडि जानुहुन्छ, तपाईंको सम्बन्ध अझ मजबुत हुन्छ र हामी उनीहरूबाट सहयोग माग्छौँ ।”

उनले अगाडि भनिन्, “दोस्रो के हो भने, केही देश पाकिस्तानतर्फ धेरै झुकेका छन्, जस्तै मलेसिया । तर, यो विषयमा मलेसियाले भारतको कुरा पनि हामी उत्तिकै ध्यान दिएर सुन्छौँ, जति पाकिस्तानको सुन्छौँ भनेर भनेको छ ।”

उनले ब्राजिलको उदाहरण दिँदै भनिन्, “ब्राजिलमा शशि थरूर गए र भने– चीनसँग तपाईंको राम्रो सम्बन्ध छ, तर हेर्नुहोस्, हामीमाथि के भइरहेको छ ?”

उनले थपिन्, “ब्राजिल भारतको तुरुन्तै समर्थक बन्ने छैन, तर उनीहरूका कानमा कुरा पुगोस् भन्ने पनि जरुरी छ । महत्त्वपूर्ण कुरा के हो भने, अस्थायी सुरक्षा परिषद्‌मा आउने देशहरूमा पनि हाम्रा प्रतिनिधिमण्डल गएका छन् । यसैले यो जरुरी छ ।”

प्राध्यापक राखराले भनिन्, “पाकिस्तान पनि दुई वर्षका निम्ति सुरक्षा परिषद्को अस्थायी सदस्य हुनेछ । यसको नकारात्मक प्रभाव नपरोस्, हामी त्यसैअनुसार प्रयास गरिरहेका छौँ ।”

पाकिस्तानमा के चर्चा भइरहेको छ ?
पाकिस्तानी प्रतिनिधिमण्डल गएका देशमा के भइरहेको छ ? भन्ने प्रश्नमा आसिफ फारुकीले भने, “पाकिस्तानमा यसलाई धेरै सकारात्मक रूपमा हेरिएको छ । बिलावल भुट्टो जरदारीले राखेका कुरालाई पाकिस्तानमा धेरै सकारात्मक ढंगमा प्रस्तुत गरिएको छ ।”

फारुकीले अगाडि भने, “जो नेताहरूसँग प्रतिनिधिमण्डलले भेट गर्‍यो, प्रधानमन्त्री मोदीका बारेमा कुरा गर्‍यो । पाकिस्तानले आफ्ना कुरा विश्व समुदायसामु राख्ने तरिकामा सरकारी अधिकारीहरूबाट प्रशंसा पाइरहेको छ ।”

उनले थपे, “कूटनीतिमा तपाईंले आफ्ना कुरा कसरी राख्नुहुन्छ, यो धेरै महत्त्वपूर्ण हुन्छ । बिलावल भुट्टो जरदारी जहाँजहाँ गए र जसरी पाकिस्तानको कुरा विश्वसामु राखे, उनको धेरै प्रशंसा भइरहेको छ ।”

के कश्मीर मुद्दा अन्तर्राष्ट्रियकरण भइरहेको छ ?
भारतले सुरुदेखि नै कश्मीर मुद्दा अन्तर्राष्ट्रियकरण हुन नहुने भनिरहेको छ । के नचाहँदा नचाहँदै पनि कश्मीर मुद्दा अन्तर्राष्ट्रियकरण भइरहेको छ ? भन्ने प्रश्नमा प्राध्यापक राखरा भनिन्, “भारतले जसरी आफ्नो पक्ष राखेको छ, यसको केन्द्र पाकिस्तान नै रहेको छ र भारतमाथि आक्रमण नै रहेको छ ।”

भारतका कुनै पनि प्रतिनिधिमण्डलले कश्मीरका बारेमा कुरा नगरेको र गर्न पनि नहुनेमा राखराले जोड दिइन् ।

उनले अगाडि भनिन्, “भारतका तर्फबाट कश्मीर मुद्दाको अन्तर्राष्ट्रियकरण भइरहेको छैन । पाकिस्तान जसरी बचाउमा लागेको छ, यसले कश्मीरमाथि विश्वको ध्यान कम हुँदै गएको देखिन्छ ।” बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०६:५३
प्रतिक्रिया दिनुहोस्