
काठमाडौं । सरकारले खुला नीति लिएपछि निजी क्षेत्रबाट अर्बौं रुपैयाँ लगानीमा स्कुल तथा कलेज सञ्चालन भइरहेका छन् । प्रतिष्ठित विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेज सञ्चालनको क्रम बढ्दै गएको छ ।
यस्तै, दिक्षित परिवारले सञ्चालन गरिरहेको रातो बंगला स्कुलले एक अर्ब २० करोड रुपैयाँ लगानीमा ललितपुरको हात्तीवनमा ‘ए’ लेभल कक्षाका लागि पूर्वाधार विस्तारको काम सुरु गरेको छ । स्कुलले ‘ए’ लेभलका पाठ्यक्रमहरू हाल ललितपुरको पाटनढोकाबाट सञ्चालन गरिरहेको छ । नयाँ भवन निर्माण सम्पन्न भएपछि ‘ए’ लेभललाई ललितपुरको हात्तीवनमा स्थापित पूर्वाधारमा सार्ने भएको छ ।
स्कुलले सन् २००४ देखि क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनको ‘ए’ लेभल कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । ‘ए’ लेभल कक्षाका लागि थप अत्याधुनिक भवन निर्माण थालेको स्कुलले जनाएको छ । त्यसका लागि स्कुलले ६७ प्रतिशत बैंकको ऋण र बाँकी ३३ प्रतिशत स्वपुँजी (इक्विटी) हुने लगानी लगानी संरचना तयार पारेको छ । स्कुलले ८० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । स्कुलले त्रिपल बी माइनस स्कोर पाएको छ ।
स्कुलको सञ्चालन आम्दानी बढ्दै गएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष (सन् २०२४) मा रातो बंगलाले ६७ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, २०२३ मा ५५ करोड ९० लाख, २०२२ मा ४१ करोड ३० लाख, २०२१ मा २८ करोड ४० लाख र २०२० मा ३६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । स्कुलको व्यापार बढ्दै गएको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
सन् १९९९ मा स्थापित रातो बंगाला स्कुलले क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनको ‘ए’ लेभल कार्यक्रमको अतिरिक्त प्राथमिक तहदेखि कक्षा १० सम्मका कक्षाहरू सञ्चालन गर्दै आएको छ । स्कुलको अध्यक्ष शान्ता दिक्षित रहेका छन् ।