site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुलेखानीको जलसतह ४४ मिटर घट्यो, के हो कारण ?
फाइल तस्बिर।

काठमाडौं । कुलेखानी जलाशयको जलसतह ४४ मिटरले घटेको छ । सुक्खायाम बढेसँगै विद्युत् उत्पादन बढ्दा जलसतह ४३.५८ मिटरले घटेको हो ।

गत वर्ष असोज १० देखि १२ सम्म परेको अविरल वर्षाले जलाशय एकहजार ५३० मिटर (पूर्ण) भरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुक्खायामका कारण विद्युत् उत्पादन बढाउँदा अहिले जलसतह एकहजार ४८६.४२ मिटरमा झरेको आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

“अहिले केन्द्र चलाउने बेला नै हो । अहिले आवश्यक परेको बेलामात्रै चलाएका छौँ,” उनले भने ।

मनुसुन सुरु भइसकेको र पानी पर्न थालेपछि जलाशय पुनः भरिन थाल्ने भट्ट बताउँछन् । गत वर्ष कुलेखानी भरिएपछि 'ओभरफ्लो'समेत भएको थियो । बाँधको सुरक्षाका लागि दुई ढोका खोल्नुपरेको थियो । जसका कारण तल्लो तटीय क्षेत्रमा ठूलो दुर्घटना भएको थियो ।

कुलेखानी जलविद्युत् आयोजना मुख्यरूपमा सुक्खा र गर्मीयाममा विद्युत् आपूर्ति र माग सन्तुलनमा राख्न तथा भोल्टेज नियन्त्रणका लागि प्रयोग गरिन्छ । पूर्णक्षमतामा सञ्चालन हुँदा कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट बिजुली उत्पादन हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्