
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको यही जेठ १४ गते बसेको ३२औँ बैठकले काठमाडौंको चोभार गल्छीसँग सम्बन्धित एउटा निर्णय गरेको थियो ।
निर्णयमा भनिएको थियो, “अविरल वर्षाको समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरका क्षेत्रमा डुबान हुने गरेकाले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकतानुसार नेपाली सेनासँग समेत समन्वय गरी विपद् जोखिम न्यूनीकरण गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिने ।”
चोभार गल्छीमा नदी प्रवाह सुचारु गर्ने सम्बन्धमा लगिएको प्रस्तावमाथि छलफल गरेपछि उक्त निर्णय लिइएको थियो । यो निर्णय सार्वजनिक भएपछि धेरैले जिज्ञासा राख्दै आएका छन्, ‘के सरकारले चोभार गल्छी फोडेर फराकिलो बनाउन लागेको हो ?’
बाह्रखरीले यही प्रश्न सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका निर्देशक उद्धव नेपालसँग राख्यो । उनले भने, “हामीलाई यही अफवाह फैलिएला भन्ने डर छ । चोभार गल्छी फोडेर फराकिलो बनाउने भन्ने कुरै होइन । हामीले चोभार गल्छीभन्दा माथिको भागमा काम गर्न खोजेका हौँ ।”
त्यसो हो भने गर्न खोजिएको के हो त ? फेरि हामीले प्रश्न गर्यौं ।
नेपालले स्पष्ट पार्दै भने, “चोभार गल्छीभन्दा माथिल्लो भागमा केही चिजहरूले वाग्मती नदीको प्रवाहमा अवरोध पुर्याइरहेको छ । त्यो अवरोध हटाउन हामीले काम गर्न लागेका हौं, ताकि यो वर्षको वर्षायाममा गत वर्षजस्तो काठमाडौं डुबानमा नपरोस् ।”
२०८१ असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति गरेको थियो ।
२०८१ सालमा बाढी तथा पहिरोका कारण मात्र काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ६८ जनाको मृत्यु र ६ जना बेपत्ता भएका थिए ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार, उक्त वर्ष काठमाडौंमा २०, ललितपुरमा ४६ र भक्तपुरमा २ जनाको मृत्यु भएको थियो ।
गतवर्ष अविरल वर्षापछिको बाढी र पहिरोले काठमाडौं उपत्यकामा ठूलो क्षति गरेपछि सामाजिक सञ्जालमा एउटा वहस चलेको थियो– केही गरी चोभार गल्छी थुनियो भने काठमाडौं उपत्यका के हुन्छ ? पानी कसरी बाहिर पठाउने ? यो बहस आरिघोप्टे वर्षा भइन्जेल चल्यो, अनि वर्षा रोकिएसँगै सेलायो ।
काठमाडौं उपत्यकाका रुद्रमती, मनमती, बल्खुखोला, नख्खुखोला, गोदावरी, कोडेकुखोला, हनुमन्ते, मनहरा र विष्णुमतीलगायतका नदी वाग्मती नदीको सहायक नदी हुन् ।
गतवर्ष काठमाडौं उपत्यहका भई बहने नदीहरूमा बाढी आउँदा यहाँका थुप्रै वस्ती डुबानमा परेका थिए । नख्खु खोलामा आएको बाढीले पनि चोभार गल्छी नजिक वाग्मती नदीमा मिसिनुअघि ठूलो जनधनको क्षति गरेको थियो ।
गतवर्ष असोजमा परेको अविरल वर्षापछि चोभार गल्छी नजिक दायाँ बायाँबाट स–साना पहिरो वाग्मती नदीमा खसेका थिए । जसले गर्दा वाग्मती नदी केही साँघुरिएको छ ।
चोभार गल्छी, जहाँबाट वाग्मती नदी बहन्छ त्यसको बायाँ ललितपुर महानगरपालिका वडा नं. १८ र दायाँ कीर्तिपुर नगरपालिका वडा नं. ६ पर्छ । पहिरो वाग्मती नदीमा झरेको देखेपछि दुवै वडाका जनप्रतिनिधिले सहरी विकास मन्त्रालयलाई सम्पर्क गरेका थिए ।
“पहिरोले भोलि वाग्मतीको बहाव रोक्न सक्ने भन्दै यसको व्यवस्थापन गरिदिन भनी उहाँहरूले अनुरोध गर्नुभएको थियो,” अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका निर्देशक नेपालले भने ।
त्यसपछि चोभार गल्छी र वरपर क्षेत्रको अध्ययन गर्न सुरु गरिएको थियो ।
स्थलगत अवलोकन गर्दा चोभार गल्छी अगाडि जोखिम देखिएपछि सहरी विकास मन्त्रालयले यससम्बन्धी जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई गराएको थियो । प्राधिकरणले यसलाई प्रस्तावका रुपमा २०८२ जेठ १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औं बैठकमा लगेको थियो ।
बैठकले उक्त क्षेत्रमा आगामी दिनमा डुबान हुन नदिन नेपाली सेनाको सहयोग लिई अवरोध हटाउ सहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । त्यसपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको नेतृत्वमा एक टोली यही जेठ २५ गते चोभार गल्छी र वरपरको क्षेत्रको निरीक्षण गर्न गएको थियो ।
उक्त टोलीमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका निर्देशक नेपाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, काठमाडौं र ललितपुरका प्रहरी, नेपाली सेनाका प्रतिनिधि, खानी तथा भूगर्भ विभागका प्रतिनिधिलगायत सहभागी थिए ।
“चोभार गल्छीभन्दा माथि पट्टी वाग्मती नदी बहने ठाउँमा चार–पाँच वटा ठूला/ठूला ढुंगा देखिएका छन् । त्यसमा भोलि रुखहरू र अन्य चीजहरू गएर अड्कियो भने अझ बढी माथिसम्म नै थुनिन सक्ने खतरा देखिन्छ,” निर्देशक नेपालले भने ।
यी ढुंगाहरू हटाउनुपर्ने देखिएको उनले बताए । स्थलगत निरीक्षणका क्रममा देखिएका अवरोध नेपाली सेनालाई जानकारी गराइएको छ । नेपाली सेनाले कसरी वाग्मतीको प्रवाह रोक्नसक्ने सम्भावित ढुंगा र पहिरो हटाउने भन्ने योजनासहितको जवाफ पठाएपछि काम अघि बढ्ने उनले जनाए ।
“हामीले यस सम्बन्धमा नेपाली सेनालाई पत्र पठाइसकेका छौँ । हामी सेनाको जवाफको प्रतीक्षामा छौँ,” निर्देशक नेपालले भने, “हामीले अनुरोध गरेको चोभार गल्छी अगाडि वाग्मती नदीमा रहेका ठूला ढुंगा के गर्ने भन्ने एउटा हो । त्यसपछि चोभार गल्छी अगाडि दुवै साइडबाट वाग्मती नदीमा पहिरोसँगै ढुँगा खसेको छ, त्यसले वाग्मती नदीलाई साँघुरो बनाएको पनि छ । त्यसलाई कसरी कसरी हटाउने भन्ने हो ।”
निर्देशक नेपालका अनुसार, चोभार गल्छीभन्दा अगाडि तत्काल गर्नुपर्ने दुई काम देखिएका छन्, पहिलो ढुंगा हटाउने र दोस्रो पहिरो पन्छाउने ।
यी दुवै काम काठमाडौं उपत्यकामा वर्षा सुरु हुनु र वाग्मतीलगायतका नदीमा बाढी आउनुअगावै गर्नुपर्ने हुन्छ । पछि आवश्यकता पर्यो भन्ने काठमाडौं उपत्यकालाई डुबानबाट जोगाउन अन्य उपाय पनि अपनाउन सकिने निर्देशक नेपालको भनाई छ ।
“पछि आवश्यकता महसुस भयो भने टनेल बनाउनुपर्ने हुन्छ । यो चोभार गल्छीको बायाँतर्फ बनाउनुपर्छ, वाग्मती नदीको बायाँ किनारातर्फ,” उनले भने ।
निर्देशक नेपाल काठमाडौंलाई डुबाउनबाट बचाउन सकिने अन्य उपाय पनि देख्छन् । उनी थप्छन्, “अरु सम्भावना पनि छन् । माथि कार्यविनायक होम्सनेरबाट नख्खुलाई सिधै फ्लड डाइभर्ट गर्ने र बुङमतीभन्दा तल वाग्मतीमा मिलाउने । यो काम फ्लड टनेल बनाएर गर्नुपर्छ । टनेल बाढीको बेला पानी पठाउने र बाढी नभएको बेला सडकको रुपमा प्रयोग गर्न मिल्नेगरी बनाउन सकिन्छ ।”
नदीको सतह उकास भएर पनि काठमाडौंमा डुबानको समस्या आएको भनाइ निर्देशक नेपालको छ । चोभार गल्छी नजिक वाग्मती नदी र काठमाडौं उपत्यकाभित्र वहने अन्य नदीमा पनि बलौटे ढुंगा र माटो थुप्रिँदै जाँदा नदीको सतहमाथि उकासिएको उनी बताउँछन् ।
“वास्तवमा नदीको सतह उकास भइरहेको छ । बलौटे ढुंगा, माटो थुप्रिनेक्रम बढीरहेको छ । अब यहाँ एउटा छलफल गर्नुपर्ने विषय छ, त्यो के भने नदीमा थुप्रिएका वस्तु झिकेर नदीको सतह बढ्न नदिने हो कि,” निर्देशक नेपालले भने । यसका लागि स्थानीय तहको भूमिका अहम् हुने उनको बुझाइ छ ।