
काठमाडौं । यो वर्षको मनसुन लुम्बिनीका केही भूभागसम्म प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार (जेठ २९) कोसीको बाँकी भू–भाग, मधेस, वाग्मती, गण्डकीका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा प्रवेश गरेको छ ।
नेपालमा मनसुन जेठ १५ गते राति नेपाल प्रवेश गरेको थियो । मनसुन पूर्वबाट प्रवेश गरी कोसी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको थियो ।
“यस वर्षको मनसुन प्रणाली आज मिति २०८२/०२/२९ (१२ जुन) गतेका दिन कोसी प्रदेशको बाँकी भू–भाग, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा प्रवेश गरेको छ,” महाशाखाले बिहीबार जारी गरेको बुलेटिनमा उल्लेख छ ।
यसपालि औसत मिति (जुन १३)भन्दा १५ दिनअगावै मनसुन नेपाल भित्रिएको छ । गत वर्ष जेठ २८ गते अर्थात् औसत मितिभन्दा तीन दिन छिटो (जुन १०) मनसुन नेपाल भित्रिएको थियो ।