
काठमाडौं । इजरायली आक्रमणमा इरानी सशस्त्र सैन्य बलको गुप्तचर इकाइ प्रमुख मारिएपछि इरानले नयाँ हवाई हमला गरेको छ । इरानले सोमबार (जुन १६) यो आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ ।
इरानले ड्रोन र ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाइएको छ । इजरायली सेनाले इरानको नयाँ मिसाइल आक्रमणमा धेरै ठाउँमा क्षति भएको जनाएको छ ।
इजरायलको राष्ट्रिय आपत्कालीन सेवा मागेन डेभिड एडमका अनुसार, मध्य इजरायलका चार फरक स्थानमा कम्तीमा तीनजनाको मृत्यु भएको छ । ६७ घाइतेलाई अस्पताल पुर्याइएको छ । कम्तीमा एक महिलाको अवस्था गम्भीर छ । अरू ६ जनाको अवस्था स्थिर छ ।
इजरायलको अग्निशमन सेवाले भनेको छ, “इरानबाट भएको नयाँ मिसाइल हमलापछि इजरायलका धेरै क्षेत्रमा होमफ्रन्ट कमान्डले खोजी र उद्धार टोली खटाइएका छन् ।”
अग्निशमन सेवाले अगाडि भनेको छ, ‘‘उद्धारकर्मी तटीय क्षेत्रमा मिसाइल प्रहार भएको भवनतर्फ जाँदै छन् ।”
इजरायलको राष्ट्रिय आपत्कालीन संस्थाले हाइफा सहरमा तैनाथ गरिएको आफ्नो टोलीको भिडियो सार्वजनिक गरेको छ । त्यसमा धेरै गाडीमा आगो लागेको र विस्फोटले एउटा आवासीय भवनको अगाडिको भाग भत्किएको देखिन्छ ।
इरानको हवाई आक्रमणबाट इजरायलमा भएको क्षतिका थप तस्बिर हेर्नोस्–