site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् बैठक रोक्ने अवस्था छैन : सभामुख, रास्वपा नेताले भने– पछाडि फर्कन सक्दैनौँ
देवराज घिमिरे (बायाँ) र डीपी अर्याल (दायाँ) । फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले सोमबार (असार २) बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग भेट गरेका छन् । सभामुखको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा सभामुखले विपक्षीको अवरोधका कारण संसद् दुई साता बन्धक बनेको बताए । अब संसद् बैठक रोक्ने अवस्था नभएको उनले स्पष्ट पारे । “बजेटबारे व्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद् अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको छ,” उनले भेटमा भने, “विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसद्लाई सहमतिका लागि रोकेको हुँ । तर, अब रोक्ने अवस्था छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सभामुखको सचिवालयका अनुसार, आफूले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्ने उनले बताए । “राष्ट्रियसभाले ५ गते (असार ५)भित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ,” उनले भने, “यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्दछ ।”

सभामुख घिमिरेले रास्वपालाई विरोधको स्वरूप बदल्न आग्रह गरे । संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्नेमा उनले जोड दिए । “बरु, सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु,” उनले भने, “गम्भीर भएर छलफल गरौँ ।”

सभामुखको सचिवालयका अनुसार, भेटमा रास्वपा नेताले विपक्षीका माग गम्भीर भएको बताएका थिए । आफूहरूले जनताको वास्तविक समस्या उठाएको उनीहरूले जानकारी गराएका थिए । “हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद् अवरोध बाध्यात्मक भएको हो,” रास्वपा नेताले भने । 

आफूहरू मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्था नभएको उनीहरूले स्पष्ट पारे । “अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौँ,” रास्वपा नेताको भनाइ उद्धृत गर्दै सभामुखको सचिवालयले भनेको छ, “तथापि, हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौँ ।”

सभामुखसित अर्याल र परियारले करिब एक घण्टा भेटवार्ता गरेका थिए । भिजिट भिसा प्रकरणमा छानबिन आयोग वा समिति बनाउनुपर्ने उनीहरूको माग छ । यही मागसहित उनीहरूले संसद् बैठकमा विरोध गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्