site stats
बाह्रखरी :: Baahrakhari
खेल
बलिङमा सन्दीप चम्किँदा स्कटल्यान्ड ९७ रनमा अलआउट, नेपाललाई ९८ रनको लक्ष्य

काठमाडौं । बलिङमा सन्दीप लामिछाने चम्किँदा स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिमबाट ९८ रनको लक्ष्य पाएको छ । स्कटल्यान्डको ग्लासगोमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टिम नेपालविरुद्ध १९.४ ओभरमा ९७ रनमै समेटियो । 

स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । घातक बलिङ गरेका सन्दीपले चार ओभरमा एक मेडन फ्याक्दै ११ रन मात्र खर्चिए । उनको इकोनोमी रेट ३.०० भन्दा तल रह्यो ।

यसबाहेक, करण केसीले र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । ललित राजवंशीको नाममा एक विकेट रह्यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्कटल्यान्डका माइकल लियस्कले सर्वाधिक ४६ रन बनाए । कप्तान म्याथ्यु क्रसले १५ र ब्रान्डन म्याकमुलनले १० रन थपे । यसबाहेक, स्कटिस टिमबाट अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो इनिङको पहिलो पावर प्ले समाप्त हुँदासम्म स्कटल्यान्डका पाँच ब्याटर पभेलियन फर्किसकेका छन् । ६ ओभर समाप्त हुँदा स्कटल्यान्डले पाँच विकेट गुमाएर ३६ रन बनाएको छ ।

शृंखलामा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग कीर्तिमानी प्रदर्शन गरे पनि सुपर ओभरमा हार बेहोरेको थियो । उक्त खेल तीनपटकसम्म सुपर ओभरमा पुग्दा नेदरल्यान्ड्सले तेस्रोपटकमा जित निकालेको थियो ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीनपटकसम्म सुपर ओभरमा पुगेको यो पहिलो र हालसम्मको एक मात्र खेल हो ।

यता, स्कटल्यान्डको पनि जारी शृंखलामा यो दोस्रो खेल हो । स्कटल्यान्डले यसअघि पहिलो खेलमा डच टोलीविरुद्ध ३९ रनको जित निकालेको थियो । 

आइतबारदेखि सुरु भएको शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता छ ।

 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्