site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अमरेशको अभिव्यक्तिले संसद्‌मा ‘हंगामा’, अनि सभामुखले भने– डायस छाडेर तल जानू

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको एक अभिव्यक्तिका कारण आइतबार प्रतिनिधिसभाको बैठकमा एकाएक हंगामा मच्चियो । तल रास्वपाका सांसदहरुको आफ्नै शैलीको विरोध प्रदर्शन जारी थियो । सिंह बिनियोजित बजेटका विषयमा बोल्दै थिए ।

उनले आफ्नो धारणा राख्ने क्रममा नेपालका चार–पाँच जिल्लाबाहेक अन्य सबै जिल्ला कुनै देशमा गाभिदिए हुने अभिव्यक्ति दिएका थिए ।

“भाग्यमानी चार–पाँच जिल्ला नेपालमा राखौँ बाँकी जिल्ला अर्को देशलाई जिम्मा दिऊँ,” उनले बोल्ने क्रममा राखेका थिए, “अमेरिका, चीन, भारत जसलाई जिम्मेवारी दिने हो दिऊँ । बाँकी जिल्लामा बजेट नै जाँदैन भने नेपालमा किन राख्ने ?”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

amresh3-1750574579.JPG
 

उनले त्यसपछि सहरी विकास मन्त्रालय अन्तरगत बिनियोजित बजेटका सम्बन्धमा धारणा राख्दै थिए ।

त्यसपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति गर्दै सांसद सिंहका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाएर कारबाहीको माग गरे ।

mahesh-bartaula-1750574579.JPG
 

“नियम २०, २१ र २३ अनुसार मेरो नियमापत्ति हो,” बर्तौलाले आपत्ति जनाउँदै भने, “छलफलमा सहभागी हुनुभएका माननीय सदस्यले आपत्तिजनक विषय यो संसद्मा राख्नुभयो । विनियोजन शीर्षकमा भाग लिनुभएको छ । बाँकी जिल्लालाई अमेरिकालगायतका देशलाई जिम्मा दिऊँ भन्नुभयो । राष्ट्रघाती अभिव्यक्ति हो । यो रेकर्डबाट हटाउनुपर्छ । र, कारबाहीको विषय बनाइनुपर्छ ।”

तर रोकिएनन् अमरेश ।

उनले पनि आपत्ति जनाउँदै भने, “सर्लाहीमा बजेट किन नराखिदिएको ? यो कारबाहीको विषय हो ?”

बर्तौला पनि रोकिएनन् उनले लगातार कारबाहीको माग गर्दै नियमापत्ति जनाइरहे ।

samsad3-1750574580.JPG
 

“यो रेकर्डबाट हटाउनुपर्छ । मुलुकको सार्वभौमिकताको विरुद्धमा एउटा सांसदले रोष्ट्रममा उभिएर जे बोल्नुभयो,” उनले भने, “यो कारबाहीको विषय हुनुपर्छ । थप सचेत गराइनुपर्छ । उहाँको अभिव्यक्ति विगतमा पनि राम्रो छैन । समानुपातिक सांसदलाई गाली गलौजको विषय बनाउनुभएको छ । उहाँलाई योभन्दा अघि बढ्न दिइनुहुँदैन । हामी अब सुन्न सक्दैनौँ । उहाँको शब्द हटाएर कारबाहीको विषय बनाइयोस् ।”

बाँकी सांसदहरुले पनि बर्तौलालाई साथ दिएपछि चर्काचर्की भएको थियो ।

अनि सभामुख घिमिरले पनि सिंहले दिएका अभिव्यक्ति हटाउन निर्देशन दिए ।

“आसय जे भए पनि पाँच जिल्लाबाहेक अरु मुलुकलाई दिए हुन्छ भन्नुभएको छ । त्यसैले माननीय सदस्यहरु अरु मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भन्ने कुरा असंसदीय भाषा भयो,” सभामुखले यति धारणा राख्नासाथ सिंह थप आक्रोशित देखिए ।

“समय जम्मा सात मिनेट छ । पार्टीको निर्देशन मान्न तयार छैन । सभामुखलाई एमालेले जे भन्यो त्यही मान्ने ? सभामुख एमालेको होइन संसद्को हो । बजेट पनि नजाने ? बोल्न पनि नपाउने ? बजेट किन गएन मलाई कारण चाहिन्छ,” सिंहले आफ्नो सिटमा उभिएका सत्तापक्षका सांसदप्रति आक्रोश व्यक्त गर्दै भने, “तपाईं जसरी आएको हो म पनि त्यही प्रक्रियाबाट आएको हो । यहाँ तपाईंले देशप्रति गद्धार गर्ने ? ३० वर्षमा देशलाई गद्धार बनाएर डुबाउने ?”

सिंह थप आक्रोशित बनेपछि सांसदहरुले पनि उनीमाथि कारबाही हुनुपर्ने धारणा राखिरहे ।

अनि सभामुख घिमिरेले भने, “वक्ता माननीय सदस्य, यहाँलाई सचेत गराउँछु कि निर्धारित विषयमा अघि भएको रुलिङअनुसार अघि बढ्नूस् ।”

सिंह झन् जंगिए ।

उनले भने, “स्वतन्त्र सांसदलाई मात्रै रुलिङ किन ? सानो र ठूलो सांसद बनाउने ? एउटा रास्वपालाई दुःख दिइरहने ? सरकारको बजेट आफैँ कुम्ल्याउने ? अन्यायका विरुद्धमा लडन् जनताले पठाएका हुन् । हामी गुच्चा खेल्न आएको हो ?”

samsad-1750574580.JPG
 

त्यसपछि सभामुखले भने, “निर्धारित विषयमा बोल्नुहुन्न भने तपाईं डायर छाडेर तल जानूस् !”

त्यसपछि सिंहले आफ्ना धारणा नराखी सात मिनेट त्यसै बसेर बिताइदिने चेतावनी दिए ।

“हामीलाई मात्रै रुलिङ गर्ने ? सरकारको बजेट आफैँ कुम्ल्याउने र अन्याय हामी सहदैनौँ,” सिंहले भने, “तपाईंले बोल्न दिनुहुँदैन भने बोल्दिनँ । म यही बस्छु । सबै ज्यादती सहन आएको होइन । हामी राजाको विरुद्ध पनि लडेर आएको हो ।”
 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्