
काठमाडौं । अभिनेता विपीन कार्कीले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका पक्षमा हस्ताक्षर गरेको बताएका छन् । सरकारले रविविरुद्ध प्रतिशोध साँधेको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानमा आफू सहभागी भएको उनले बताए ।
रविलाई सरकारले प्रतिशोध साँधेको जस्तो आफूले पनि महसुस गरेको भन्दै उनले बाह्रखरीसँग भने, “मलाई पनि रवि दाइविरुद्ध सरकारले अनावश्यक रूपमा प्रतिशोध साँधेजस्तो लाग्यो, त्यसैले हस्ताक्षर गरेको हुँ ।”
रवि लामिछानेका पक्षमा हस्ताक्षर गरेको कुरा आएको छ, हो ?
हो, केही दिनअगाडिदेखि रास्वपाले रवि दाइका पक्षमा हस्ताक्षर अभियान चलाइरहेको रहेछ । मलाई पनि फोन गरिरहनु भएको थियो । त्यसैले आज मौका जुरेकाले गएर हस्ताक्षर गरेको हुँ ।
चिनजानका आधारमा दबाब आएर हो की खुसीखुसी हस्ताक्षर गर्नुभयो ?
रवि दाइसँग पहिलादेखि नै म निकट थिएँ । चिनजान थियो । चिनजान र निकटता पनि एउटा कारण हो । तर, यही नै मुख्य कारण होइन । दबाब पनि कसैले दिएको होइन । मलाई फोन मात्रै गर्नुभएको थियो ।
मुख्य कुरा मलाई पनि राज्यले रवि दाइमाथि प्रतिशोध नै साँधेको हो कि जस्तो लागेको हो । एउटा व्यक्तिलाई यति धेरै किन दुःख दिएको होला भन्ने लागिरहेको थियो ।
उहाँलाई थुनामा राखेर के भयो, यति धेरै पीडित छन् भनिएको छ, उहाँहरूले न्याय पाए त ? बाहिर बसेर पनि त लड्न सकिन्छ भन्ने मलाई लागिरहेको थियो । त्यही भएर हस्ताक्षर गरेँ ।
अब, तपाईंलाई दर्शकले विपीन कार्की रास्वपा रहेछ भन्ने भए नि ?
म रास्वपा होइन । पहिला पनि थिइनँ र अहिले पनि होइन । म कुनै पनि पार्टीको कार्यकर्ता होइन ।
कसैले चलाएको अभियानमा सहभागी भएको मात्रै हो । म स्वयंलाई पनि राज्यले कोही एक व्यक्तिमाथि अन्याय गरेको छैन, किन कहिले यता कहिले उता गरिरहेको छ भन्ने लागिरहेको थियो । त्यसैले हस्ताक्षर अभियानमा सहभागी भएको हुँ । त्यसैले पार्टीको ट्याग लगाउनुपर्छ जस्तो लाग्दैन ।
रास्वपा नभएर अर्को कुनै पार्टी, व्यक्ति वा संस्थाले यो अभियान चलाएको भए पनि म सहभागी हुन्थेँ । मलाई मात्रै होइन अहिले आमजनतालाई पनि यही लागिरहेको छ भन्ने लाग्छ ।