
काठमाडौं । सिरियाको दमास्कसस्थित एउटा चर्चमा आत्मघाती बम आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ६३ जना घाइते भएका सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सिरियाको आन्तरिक मन्त्रालयका अनुसार, आइतबार साँझ ड्वेइला क्षेत्रस्थित ग्रीक अर्थोडक्स चर्च अफ द प्रोफेट एलियासमा प्रार्थनाको समयमा एक व्यक्तिले गोली चलाएर आक्रमण गरेका थिए । त्यसपछि ती व्यक्तिले विस्फोटक भेस्ट विस्फोट गराएका बीबीसीले जनाएको छ ।
मन्त्रालयले ती आक्रमणकारी जिहादी समूह इस्लामिक स्टेट (आईएस)सँग सम्बन्धित रहेका जनाएको छ । उक्त समूहले भने तत्काल कुनै दाबी गरेको छैन ।
चर्चभित्रका तस्बिर र भिडियोले धेरै क्षति पुगेको देखिन्छ । सिसाका टुक्रा छरिएका र भित्तामा रगत लतपतिएको देखिएको छ ।
प्रत्यक्षदर्शी लरेन्स मामारीले एक व्यक्ति बाहिरबाट हतियार बोकेर चर्चमा प्रवेश गरेको र गोली चलाउन थालेको बताए । ती व्यक्तिलाई रोक्न खोज्दा उसले आफूलाई विस्फोट गराएको उनले उल्लेख गरे ।
नजिकैको पसलमा रहेका अर्का व्यक्तिले गोलीको आवाज सुनेकोे र त्यसपछि विस्फोट देखेको बताए । “हामीले चर्चमा आगो लागेको देख्यौँ र काठका बेन्चहरूको भग्नावशेष प्रवेशद्वारसम्मै छरिएको थियो,” ती व्यक्तिले भने ।
१३ वर्षको विनाशकारी गृहयुद्ध अन्त्यपछि दमास्कसमा गरिएको यस्तो पहिलो आक्रमण भएको जनाइएको छ । र, यो आक्रमण इस्लामवादी नेतृत्वको विद्रोही सेनाले डिसेम्बरमा बशर अल–असदलाई सत्ताच्युत गरेपछि भएको हो ।