
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मानव तस्करीको सञ्जाल नेपालभित्रै बसेर राज्य संरक्षकको मिलोमतोमा चलिरहेको आरोप लगाएका छन् । सोमबार (असार ९) प्रतिनिधिसभा बैठकमा उनले सक्रिय मानव तस्कर ‘र्याकेट’लाई राज्यले संरक्षण गरिरहेको आरोप लगाएका हुन् ।
“यो र्याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा सञ्चालित देखिन्छ,” उनले भने, “यस्तो अपराधमा पनि दुई ठूला दलको सरकार किन मौन छ सभामुख महोदय ? यो सरकारको अपराधी गिरोहसँग कुनै साँठगाँठ त छैन ?”
उनले मानव तस्करीजस्तो जघन्य अपराधमा सरकार निरन्तर मौन रहेको टिप्पणी गरे । के जनताको मुद्दा उठाउनु अपराध हो ? भन्दै उनले प्रश्न गरे ।
“सभामुख महोदय, के जनताको मुद्दा उठाउनु अपराध हो ? सरकारहरू फेरिन्छन्, मन्त्रीहरू फेरिन्छन्, तर मानव तस्करहरू सधैँ उन्मुक्त किन हुन्छन् ? मानव तस्करजस्तो जघन्य र अन्तर्राष्ट्रिय अपराध आज विकराल रूपमा उजागर भएको छ,” उनले भने ।
उनले मानव तस्करी केवल कानुनी अपराध मात्र नभई मानवताको गम्भीर अपमान समेत भएको उनले बताए । त्यसबारे छानबिन समिति गठन गर्न उनले माग गरे । “भिजिट भिसाको नाममा मानव तस्कर गर्नु अपराध मात्र होइन, यो मानवताको घोर अपमान हो,” उनले भने ।
रास्वपाले गएको जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा छानबिनको मागसहित संसद्मा विरोध गर्दै आएको छ । न्युज एजेन्सी नेपाल